१२ श्रावण २०८१, शनिबार
Follow Us

यू–१९ विश्वकपः आज भारतले नेपालको सामना गर्दै

नेपालब्रिटेन संवाददाता
१९ माघ २०८०, शुक्रबार ०५:२३

केपटाउन । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप क्रिकेटको सुपरसिक्स अन्तर्गत आज भारतले नेपालको सामना गर्दैछ । नेपालको यो दोस्रो तथा अन्तिम खेल हो । नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

यु–१९ विश्वकपमा नेपाल र भारतबीच दुईवटा खेल भएका छन् । दुवै खेल भारतको पक्षमा रह्यो । सन् २००० मा भएको खेल भारतले ८ विकेटले जितेको थियो भने सन् २०१६ मा भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो ।

भारतले भने ‘सुपर सिक्स’ चरणको पहिलो खेलमा न्युजिल्यान्डलाई दुई सय १४ रनको विशाल अन्तरले पराजित गरेको थियो । नेपाल यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । ‘सुपर सिक्स’ चरणको मंगलबार सम्पन्न खेलको नतिजापछि नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो ।

मंगलबार खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई र पाकिस्तानले आयरल्यान्डलाई हराएका थिए । त्यो नतिजापछि नेपालसँगै न्युजिल्यान्ड र आयरल्यान्ड पनि उपाधि होडबाट बाहिरिएका थिए ।

यू–१९ विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो । नेपालले सन् २००० मा श्रीलंकामा सम्पन्न तेस्रो संस्करणदेखि यू–१९ विश्वकपमा सहभागिता जनाउन थालेको हो । यू–१९ विश्वकपको त्यही संस्करणमा नेपाल र भारतबिच पहिलो भिडन्त भएको थियो ।