७ जेष्ठ २०८१, सोमबार
Follow Us

आजदेखि संसद अधिवेशन, यस्ता छन् सम्भावित कार्यसूची

नेपालब्रिटेन संवाददाता
२२ माघ २०८०, सोमबार ०६:५३

काठमाडौं । संघीय संसद्को तेस्रो अधिवेशन आजदेखि सुरू हुँदैछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

संघीय संसद् सचिवालयका अनुसार सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र तथा प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।

यस्तै सम्भावित कार्यसूचीमा सभामुखले प्रतिनिधिसभा नियमावली–२०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८० पेस गर्ने संसद सचिवालयले जनाएको छ ।

आजकै बैठकमा कानूनमन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश प्रस्तुत गर्नेछन् ।