१७ जेष्ठ २०८१, बिहीबार
Follow Us

अरुण चौधरीलाई थुनामा राख्न मिल्दैन: वरिष्ठ अधिवक्ता शम्भु थापा

नेपालब्रिटेन संवाददाता
२२ माघ २०८०, सोमबार १३:१९

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ गरिएका नेपालका एक मात्र अर्वपति विनेद चौधरीका भाइ उद्योगपति अरुण चौधरीलाई थुनामा राखिरहन आवश्यक नरहेको तर्क गरेका छन् ।

आज (सोमबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा थापाले चौधरीलाई रिहा गर्दैमा कुनै प्रमाण नष्ट हुने सम्भावना नरहेको भन्दै म्याद थप गरिरहन आवश्यक नरहेको तर्क गरेका थिए ।

सार्वजनिक सूचना प्रकाशित गरेर बिक्री गरेको सेयर किनेकै आधारमा जग्गा निजीकरण गरेर खायो भन्नु गलत हुने उनले बताएका छन् । इजलासमा उनले भने, ‘नाममात्रको अभियोग लगाउने हो भने जसलाई लगाए पनि हुन्छ, ‘यो सार्वजनिक सम्पत्ति खाएको होइन, अक्सनमा सेयर खरिद गरेको हो ।’ चौधरीलाई बदनियतपूर्ण तरिकाले पक्राउ गरी हिरासतमा राखिएको थापाको तर्क रहेको छ ।

म्याद थप गर्नका लागि मनासिव आधार र कारण पनि लिनुपर्ने भन्दै उनले ठगी र किर्ते भनेर अभियोग लगाउन खोज्नु स्वच्छन्दताको पराकाष्टा भएको पनि बताएका छन ।

नेपाली उद्योग जगतमा प्रतिष्ठित रहेका चौधरी भाग्दैनन् भनेर आफू जिम्मा लिन तयार रहेको पनि थापाले इजलासमा बताए । चाहिएको बेलामा उपस्थित हुने गरी चौधरीलाई रिहा गर्नुपर्ने उनले बताएका छन् । तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना भएको आरोपमा प्रहरीले चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ ।

३ दिन थुनामै राख्न म्याद थप
व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनामाथि हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको छ ।

जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् । केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंले दिएको ४ दिनको म्याद सकिएपछि सोमबार उनलाई पुन: म्याद थप गर्न अदालतमा उपस्थित गराउन लागिएकोमा तीन दिन म्याद थप भएको छ ।