१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

रवि लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा सहकारी पीडितले बुझाए जाहेरी

नेपालब्रिटेन संवाददाता
२२ माघ २०८०, सोमबार १३:२१

काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी पीडितले प्रहरीमा जाहेरी दिएका छन । पीडितहरुले कास्की प्रहरीमा जाहेरी बुझाएका छन ।

उनीहरूको जाहेरी प्रहरीले बुझेको छ तर दर्ता भने भएको छैन् । जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत छन् ।

संस्थाहरूमा नेचर हब प्रा.लि, गोर्खा मिडिया प्रा.लि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रा.लि विरुद्ध पनि आरोप छ ।

यसबाहेक उनीहरू निकटका सहकारीविरुद्ध पनि जाहेरीमा नाम रहेको छ । छानबिन समितिको प्रतिवेदन अनुसार मनपरी रुपमा पैसा गएको देखिन्छ । पैसा लिएको तर फिर्ता नगरेका कारण जाहेरी दिएको पीडितहरूले जानकारी दिएका छन ।

पीडितहरुबाट निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिएका छन । उनले भने, ‘निवेदन आएको छ । सुरु दर्ताकै आधारमा अनुसन्धान थाल्छौँ, ‘अब अनुसन्धान थाल्न सजिलो भो । यसबारेमा जिल्ला प्रशासनसँग पनि नियमित छलफल भइरहेको छ ।