७ जेष्ठ २०८१, सोमबार
Follow Us

विश्वकै उत्कृष्ट नेपालको यो फोटो

नेपालब्रिटेन संवाददाता
२५ माघ २०८०, बिहीबार ०६:३६

काठमाडौं । झिंगा धपाउन जिउमा बालुवा छर्किँदै गरेको नेपाली हात्तीको तस्बिरले ‘सोनी विश्व फोटोग्राफी अवार्ड-२०२४’ जितेको छ ।

पर्यटक फोटोग्राफर लि जु सेनले चितवनको नारायणी नदीमा खिचेको यो तस्बिरसँगै इजिप्टको समुद्रमा रहेको गोताखोर र क्रिसमस मनाउँदै गरेको एक बालकको तस्बिरले पनि अवार्ड जितेका छन् ।

विजयी तस्बिरहरू मंगलबार विश्व फोटोग्राफी संगठनद्वारा सार्वजनिक गरिएको थियो । सोनी वर्ल्ड फोटोग्राफी अवार्ड-२०२४ मा प्रकृति, कला, संस्कृति र मानव जीवनका विविध पक्षसँग सम्बन्धित ३ लाख ९५ हजार तस्बिर प्रतिष्पर्धामा थिए । ती तस्बिरहरू विभिन्न ५४ देशका फोटोग्राफरहरूले खिचेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

सोनी वर्ल्ड फोटोग्राफी अवार्डका विद्यार्थी, युवा, खुला र व्यावसायिक प्रतियोगिताका विजेताहरू अप्रिल १८ मा घोषणा गरिनेछ । विजयी सबै तस्बिरहरु अप्रिल १९ देखि मे सम्म लन्डनको समरसेट हाउसमा हुने प्रदर्शनीमा राखिने आयोजकले जनाएका छन् ।