१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

शीर्ष नेतासँग मुख्यमन्त्रीको गुनासो: संघीय सरकारले अधिकार दिएन

नेपालब्रिटेन संवाददाता
२५ माघ २०८०, बिहीबार १३:२७

काठमाडौं । प्रदेशका मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयनका लागि संघीय सरकार उदासिन भएको भन्दै सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग गुनासो पोखेका छन ।

आज (बिहीबार) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीहरुको बैठक बसेको थियो ।

बैठकमा मुख्यमन्त्रीहरुले संघीय सरकारले आवश्यक कानुन र अधिकार नदिँदा प्रदेश सरकारलाई काम गर्न अप्ठेरो परेको भन्दौ गुनासो व्यक्त गरेका थिए ।

मुख्यमन्त्रीहरुले संघीय निजामती ऐन, प्रहरी ऐनलगायतका संघीयता कार्यान्वयनसँग जोडिएका ऐन कानुन नबन्दा काम गर्न नसकेको बताएको बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिएका छन ।

उनले भने, ‘प्रदेशलाई परेको समस्या बारे मुख्यमन्त्रीहरुले जानकारी गराउनुभयो’, सुमनले भने, ‘प्रहरी समयोजन, कर्मचारी समायोजन जस्ता कुराहरु गर्नुभयो ।’ शीर्ष नेताको बैठकमा मधेश सरकारले विश्वासको मत लिने विषयमा पनि छलफल भएको उनले जानकारी दिएका छन ।

जनमत पार्टी सरकारबाट बाहिरिएपछि जसपा नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्नेछ । ‘मधेश सरकारले विश्वासको मत लिने कुरा भएको छ’, जसपा नेता मनिष सुमनले भने, ‘विश्वासको मत छिट्टै लिने कुरा छ ।’