१८ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए र नेपाल भूतपूर्व खेलाडी मञ्चबीच तीन वर्षे सम्झौता

नेपालब्रिटेन डट कम्
२६ माघ २०८०, शुक्रबार ०३:५९

लण्डन । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्च र गैर आवाशिय नेपाली संघ (एनआरएनए आइसीसी) बीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनएसँग तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो ।

पोखरामा मंगलबार आयोजित एक कार्यक्रमकाबीच दुई पक्षले सम्झौता गरेका छन् । सम्झौतासँगै आगामी फागुन ५ गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनदेखि आगामी तीन वर्षका लागि सहयोग गर्ने सम्झौता भएको छ । सो रकम वापत एनआरएनले म्याराथनका लागि आवश्यक सेन्सर वोर्ड खरिद समेत गरेर मञ्चलाई हस्तान्तरण गरिसकेको छ । म्याराथन रुटमा हुने तीन सेन्सर बोर्ड मध्ये एनआरएनएले एक थान उपलब्ध गराउने भएको हो ।

एनआरएनएको तर्फबाट आईसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष लेरि चन्द्र गुरुङ र मञ्चको तर्फबाट अध्यक्ष हरिप्रसाद पराजुलीले सम्झौता–पत्र आदान प्रदान गरेका थिए । सम्झौता अनुसार एनआरएनएले हरेक वर्ष ७ लाख ५० हजार रुपैयाँ प्रदान गर्नेछ ।

सम्झौता पश्चात बोल्दै एनआरएनए आईसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्षले गुरुङले सुरुवाती तीन वर्षका लागि जोडिएपनि यसले त्यसपछि समेत निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे । उनले आफुहरु पोखरा म्याराथनसँग यस अघि पनि जोडिएको तर बिचमा विविध कारणले छुटेको र पुनः जोडिन पाउँदा खुसी लागेको बताउँदै सफल पोखरा म्याराथनको भविष्य निकै उज्यालो रहेको कारण भविष्यमा यसले विश्वकै उत्कृष्ट म्याराथनको रुपमा परिचित हुनेमा आफुहरु आशावादी रहेको बताए ।

एनआरएनले पोखरा म्याराथनमा विजेता हुने नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सहयोग गर्ने र आगामी दिनमा एनआरएनएको टिम समेत प्रतिस्पर्धीको रुपमा पोखरा म्याराथनमा सहभागिता हुने जनाए ।

यसपाली म्याराथन सहितका अन्य विधाका धावकहरुमा चिप्सको प्रयोग गरिने भएको सचिव केशव पाठकले जानकारी दिए ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले एनआरएनए सँग १४ वर्षपछि पुनः भेट भएको बताउँदै आगामी तीन वर्षका लागि प्रायोजन सम्झौताले म्याराथन सफल बनाउन महत्वपूर्ण भूमिका रहने बताए ।


कसरी भयो तीन बर्षे सम्झौता

१४ वर्ष पछि इतिहास दो¥हाउँदै एनआरएनए पुनः पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा जोडिने सन्दर्भका बारेमा आफ्ना भनाई राख्दै मञ्चका निवर्तमान अध्यक्ष एवं अन्तराष्ट्रिय समन्वय संयोजक तेज बहादुर गुरुङले यसको श्रेय एनआरएनए यूकेका पूर्व अध्यक्ष एवं एआरएनए आइसीसीका सल्लाहकार सूर्य गुरुङलाई दिन्छन् । सूर्य गुरुङ कुनै बेला पोखरा रंगशालाको पर्खाल निर्माणका यूके संयोजक समेत् थिए ।

उनकै पहलमा एआरएनए अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष हेमराज शर्मा, उपाध्यक्ष एवं स्पोर्टस टास्क फोर्सका अध्यक्ष रोशन थापा, महासचिव गौरी जोशी र सदस्यले चन्द्र गुरुङबीच भएको लामो छलफल पछि एआरएनए आइसीसी पोखरा अन्तर्राष्ट्रिय म्याराथनसंग जोडिएको हो ।

“यो निकै लामो छलफल थियो” संघका सल्लाहकार गुरुङले भने–“यसले समग्रमा विश्वभरी छरिएर रहेका नेपाली र उनका परिवारहरुलाई वर्षको एक पटक पोखरा म्याराथनमा सहभागिता जनाउने मात्रै नभई प्रतिस्पर्धीको रुपमा सहभागिता हुनेछ ।”

उक्त कार्यक्रममा एनआरएनए आईसीसीका सदस्य हितमान गुरुङ, एनआएन युकेका पुर्व अध्यक्ष मुक्षेत्र गुरुङ, ले रि कुशाङ गुरुङ, सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, सहारा युके पुर्व अध्यक्ष कुमार गुरुङ र सल्लाहकार योगेश गुरुङको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष खड्ग रानाभाट, द्वितिय उपाध्यक्ष खेम गुरुङ लगायतको सहभागिता रहेको थियो ।