१२ श्रावण २०८१, शनिबार
Follow Us

पाकिस्तानको निर्वाचनमा अधिकांश सिटमा इमरान खानका उम्मेदवार अगाडि

नेपालब्रिटेन संवाददाता
२६ माघ २०८०, शुक्रबार ०६:३५

पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा भ्रष्टाचार आरोपमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पीटीआई समर्थित उम्मेदवार अगाडि देखिएका छन् ।

प्रारम्भिक मतपरिणाममा पीटीआई समर्थित उम्मेदवारहरु अगाडि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यो समाचार तयार पार्दासम्म १ सय २० सिटमा पीटीआई समर्थित उम्मेदवार अगाडि छन् । आफ्ना उम्मेदवारहरुले अग्रता लिएपछि पीटीआई समर्थकले ठाउँठाउँमा विजय जुलुस निकालेका छन् ।

सरकारले पीटीआईलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाएपछि सो दलका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका थिए । कतिपय उम्मेदवारले जेलबाटै चुनाव लडेका छन् । नेशनल एसेम्लीका कूल ३ सय ३६ सिटमध्ये २सय ६५ सिटका लागि बिहीबार निर्वाचन भएको थियो ।

१ सय ६९ सिट जित्ने दलको नेतृत्वमा सरकार गठन हुनेछ । यसैबीच पीटीआई अध्यक्ष गौहर रजाले आफ्नो दलका १ सय ५० भन्दा बढी उम्मेदवार निर्वाचित हुने र मुलुकको इतिहासमा पहिलोपटक जेलमा रहेका इमरान खान प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

आफ्ना उम्मेदवारहरुले जित्ने भएपछि मतपरिणाम सार्वजनिक गर्न ढिलाई गरिएको आरोप उनले लगाए ।
निर्वाचनअघि गरिएका प्रक्षेपणहरुले नवाज सरिफको दलले बहुमत ल्याउने देखाएको थियो ।