काठमाडौं । सन् २०२३ मा स्थायी स्थायी बसोबासका लागि विदेशिनेको नेपाली नागरिकहरुको संख्या ७० हजार भन्दा बढी रहेको गृहमन्त्रालयले जनाएको छ ।
आइतबार राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागका माहानिर्देश रुद्रसिंह तामाङले प्रस्तुत गरेको विवरण अनुसार सन २०२३ मा मात्र ७० हजार ९१५ जना नेपाली नागरिकहरुले विदेशमा स्थायी बसोबास गर्नेगरी देश छाडेर हिडेका हुन । भारतबाट जानेको संख्या यसमा समावेश नभएकाले यो संख्या अझ बढी हुन सक्ने बताइएको छ ।
महानिर्देशक तामाङले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेको जानकारी दिए ।
उनले यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार ५४२ जना, अस्थायी बसोबास भिसामा ९२ हजार ३४९, स्थायी बसोबास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएको समितिलाई जानकारी गराए ।
महानिर्देशक तामाङले यसरी पछिल्लो एक वर्षमा दुई लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रूपमा विदेश बस्नेगरी गएको दाबी गरे । उनले दुई लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरूको सङ्ख्या समावेश नभएको बताए ।
यस्तै २०२३ मा आठ लाख आठ हजार ४१५ नेपाली नागरिक श्रमिकको रूपमा विभिन्न देश गएको बताए ।