१२ श्रावण २०८१, शनिबार
Follow Us

चार महिने अभियान सफल भएको नेकपा माओवादी केन्द्रको निष्कर्ष

नेपालब्रिटेन संवाददाता
२९ माघ २०८०, सोमबार १४:११

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने अभियान सफल भएको निष्कर्ष निकालेको छ ।

सोमबार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय समिति बैठकले समग्र रुपमा पार्टीको अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । अभियानका समिक्षा गर्दै माओवादीले कार्यकर्तालाई चार भागमा बिभाजन गरेको छ ।

सत प्रतिशत खट्ने कार्यकर्तालाई प्रसंशा-पत्र बितरण गर्ने, ७५ देखि ८० प्रतिशत खट्ने कार्यकर्तालाई धन्यवाद पत्र दिने, ५० देखि ५५ प्रतिशत खट्ने कार्यकर्तालाई निर्देशन पत्र दिने र १५ प्रतिशत भन्दा कम खट्नेहरुलाई स्पस्टीकरण सोधेर कारवाही गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

बैठकले तराई मधेस जागरण अभियान र उत्तर–दक्षिण अभियान चलाउने निर्णय गर्दै यसलाई आन्दोलनका रुपमा बैचारिक बहस गरिने उहाले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले जवस र मोर्चाहरुले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै जवस र मोर्चाहरुको सम्मेलन गरेर पुनर्गठन गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले काँग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गर्दै कोशी प्रदेशमा काँग्रेसबाट भएको अन्तर्घात र विभिन्न घटनाक्रमहरूले गठबन्धन लाभदायक बन्न नसकेको बताउनुभएको थियो ।

उहाँले कुटनीतिक क्षेत्र प्रभावकारी भएको र आर्थिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको प्रवक्ता सापकोटाले बताउनुभयो । बैठकमा विधान सम्मेलनबारे पनि छलफल भएको छ । माओवादीको बिधान सम्मेलन फाल्गुन १ देखि ३ गतेसम्म चल्दै छ ।