१२ श्रावण २०८१, शनिबार
Follow Us

म्यानचेस्टर सिटी बराबरीमा रोकिदा लिभरपुल र आर्सनललाई फाइदा

नेपालब्रिटेन संवाददाता
६ फाल्गुन २०८०, आईतवार ०६:५०

लन्डन । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा चेल्सीले रहिम स्टरलिङको गोलमा खेलको ४२औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि म्यानचेस्टर सिटीका लागि खेलको ८३औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई हारबाट बचाएका थिए । यो बराबरीपछि म्यानचेस्टर सिटीको २४ खेलमा ५३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

यो बराबरीपछि प्रिमियर लिगको समीकरणमा लिभरपुल र आर्सनललाई फाइदा भएको छ । गएराती नै सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४-१ ले र आर्सनलले बर्न्लीलाई ५-० ले पराजित गरेका थिए ।

सिटीको २४ खेलमा ५३ अंक भएको छ भने एक खेल बढी खेलेको लिभरपुलको २५ खेलमा ५७ अंक रहेको छ । त्यस्तै २५ खेलमा ५५ अंक रहेको आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी सिटीसँग बराबरीमा रोकिएको चेल्सीको भने २५ खेलमा ३५ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।