१६ बैशाख २०८१, आईतवार
Follow Us

जग्गा किन्दा एनआरएनए ठगिएको हो, सर्वोच्चमा जान्छौं : अध्यक्ष डा. बद्री केसी

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०८०, आईतवार ०७:२०

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले ललिता निवास प्रकरणमा गैरआवासीय नेपाली संघ ठगिएको बताएका छन् ।

ललिता निवासको १९ रोपनी भन्दा धेरै सरकारी जग्गा व्यक्तिको नाममा गएको विषयमा विशेष अदालतले गरेको फैसलाअनुसार संघको जग्गा जफत हुने छ।

डा. केसीले गैरआवासीय नेपाली संघलाई जग्गा बेच्ने मुख्य योजनाकार मिन बहादुर गुरुङलाई अदालतले दोषी ठहर गरे पछि संघ ठगिएको थप पुष्टि भएको नेपालब्रिटेन डट कमसंग बताए ।

उनले विश्वका विभिन्न देशमा छरिएका नेपालीले दिएको चन्दाबाट बनेको भवन रक्षाको लागि संघले कानुनी लडाई जारी राख्ने बताए ।

एनआरएनएमा शेष घले अध्यक्ष छँदा बालुवाटारको ३ रोपनी अर्थात ४८ आना जग्गा किनिएको थियो।

संघले प्रतिआना २६ लाख ५० हजार रुपैयाँका दरले ४८ आना जग्गा एनआरएनले १२ करोड ७२ लाखमा खरिद गरेको थियो ।

एनआरएनएका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेशमशेर राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको बयानअनुसार, उक्त जग्गा १२ करोड ७२ लाख रुपैयाँमा किनिएको हो। नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ वैशाख ३१ को निर्णयबाट रजिस्ट्रेसन दस्तुरसमेत छुट गराइएको थियो।

फैसलामा बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने उल्लेख छ।

विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आज फैसला सुनाएको हो।

विशेषले अख्तियारको मागदाबीअनुसार नै उक्त जग्गा जफत हुने फैसला सुनाएको छ।