१२ श्रावण २०८१, शनिबार
Follow Us

काँग्रेसले हिन्दू राष्ट्रको एजेण्डा बोक्दैनः विश्वकर्मा

नेपालब्रिटेन संवाददाता
६ फाल्गुन २०८०, आईतवार १३:३६

काठमाडौं । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले काँग्रेस हिन्दू राष्ट्रको एजेण्डा बोक्ने पक्षमा नरहेको बताएका छन् । सोमबारदेखि सुरु हुने महासमिति बैठकको तयारी सम्बन्धमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा विश्वकर्माले महासमिति बैठकको प्रतिवेदनमा हिन्दू राष्ट्रको एजेण्डा समावेश नहुने बताए ।

उक्त एजेन्डाले केन्द्रीय समितिमा समेत प्रवेश नपाएकाले महासमिति बैठकको विषय नबन्ने उनको भनाइ थियो । उनले पार्टी नेतृत्व हिन्दू धर्मको पक्षमा नरहेको पनि स्पष्ट गरे ।

‘कसैले छलफल त गर्न सक्छ, तर हिन्दू राष्ट्र काँग्रेसको आधिकारिक एजेण्डा बन्न सक्दैन । पार्टी सभापतिले नै त्यसलाई एजेण्डा बनाउन अस्वीकार गरिसक्नुभएको छ’, उनले भने ।

शंकर भण्डारी नेतृत्वमा २२ केन्द्रीय सदस्यले हिन्दू राष्ट्रलाई काँग्रेसले एजेण्डा बनाउनुपर्ने भन्दै महासमिति बैठकमा प्रस्तावका रुपमा लैजान हस्ताक्षरसहित केन्द्रीय समिति बैठकमा पेश गरेका थिए । तर, विश्वकर्माले काँग्रेस जातीय क्षेत्रीय, धार्मिक र साम्प्रदायीक पार्टी नभएको स्पष्ट गरे ।