१५ बैशाख २०८१, शनिबार
Follow Us

बहुमत कांग्रेस महासमिति सदस्यहरु ‘हिन्दु राष्ट्र’ को पक्षमा

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०८०, मंगलवार २०:५१

काठमाडौँ । नेपालीको कांग्रेसको जारी महासमिति बैठकमा झन्डै ८ सय महासमिति सदस्य र ३८ केन्द्रीय सदस्यले सनातन हिन्दु राज्य नेपाल कांग्रेसको नीति हुनुपर्ने पक्षमा हस्ताक्षर गरेका छन् ।

सोमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा नेपाली कांग्रेसका नेता शंकर भण्डारी नेतृत्वको सनातन हिन्दु राष्ट्र पुनर्स्थापना महाअभियानले कार्यक्रम स्थलमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलनका लागि स्टल नै राखेको छ ।

स्टलमा पार्टीका केन्द्रीय सदस्य, महासमिति सदस्य तथा कांग्रेसका कार्यकर्ताहरुले उत्साहजनक रुपमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको सो महाअभियानका केन्द्रीय सचिव तथा कांग्रेसका पूर्व महासमिति सदस्य भरतराज पौडेले बताए ।

पौडेलले भने,‘नेपाली कांग्रेसका ८ सय जना महासमिति सदस्यहरुले कांग्रेसको नीतिमा हिन्दु राष्ट्र स्थापना हुनुपर्ने पक्षमा हस्ताक्षर गर्नुभएको छ । भोली (बुधबार)सम्म १२ सय पुग्ने हामीले अपेक्षा लिएका छौँ । महासमिति सदस्य २३ सय भएपनि यहाँ धेरै सहभागी नभएको हामीले सूचना पाएका छौँ । उपस्थित महासमितिको हस्ताक्षरका आधारमा बहुमत पुगिसक्यो, भोलिसम्म संख्यात्मक रुपमा बहुमत महासमिति सदस्य हामीले थालेको यो अभियानको पक्षमा हुनुहुन्छ ।’

बैठकमा एजेण्डाका रुपमा यो विषय प्रवेश गरेको छैन नि भन्ने हाम्रो प्रश्नमा पौडेलले कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण बहुमतको निर्णयलाई कार्यान्वयन गर्न सो हस्ताक्षर अभियानले बल दिने दाबी गरे । नेपालको भविष्य सनातन हिन्दूराष्ट्रतिर रहेको बताउँदै उनले यसले मात्र नेपालको दिगो शान्ति र विकासको आधार बन्ने दाबी गरे ।

उनले भने,‘यसमा शंका गर्ने कुनै ठाउँ छैन, कांग्रेस प्रजातान्त्रिक शक्ति भएका कारणले यसलाई हामी अनुमोदन गरी छाड्छौँ । हामी दृढ विश्वासमा छौँ ।’

पार्टीका केन्द्रीय स्तरका नेताहरुमा शंशाक कोइराला, रामहरी खतिवडा लगायतका नेताहरुले हस्ताक्षर गरेका छन् । खतिवडाले हस्ताक्षर गर्दैमा हिन्दूराष्ट्र नहुने बताउँदै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताउँदै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गरे ।

खतिवडाले भने,‘हस्ताक्षर भन्दापनि कुरा के छ भने अहिले हामीले हिन्दु राज्य घोषणा गरेर त्यो घोषणा हुँदैन, संविधान संशोधन गर्नुपर्छ । व्यक्तिगत रुपमा म हिन्दु धर्मावलम्बी हुँ तर राज्यले यही धर्म मान्नुपर्छ भन्ने पक्षमा म छैन । राज्यमा यही धर्म मान्नुपर्छ भनेर प्रेसर गर्ने होइन । मान्छेलाई धार्मिक स्वतन्त्रता हुनुपर्छ । म धार्मिक स्वतन्त्रताको पक्षपाती हुँ । आफू हिन्दु हुँ तर सबै धर्मको समान अधिकार हुनुपर्छ, जर्बजस्ती धर्म परिवर्तन गराउन पाइँदैन भन्ने मेरो मान्यता हो ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखलले कांग्रेसका विभिन्न मञ्चहरुमा हिन्दु राष्ट्रको पक्षमा बिचार उठ्ने गरेको बताए । यो विषय कांग्रेसमा अनौपचारिक छलफलको विषयमात्र रहेको उनले बताए । लेखकले भने,‘कांग्रेसमा औपचारिक रुपमा छलफलका लागि दस्ताबेजका रुपमा यो विषय आएको छैन । बिचार बन्दै, बढ्दै जान्छ यो विषयमा के गर्ने भन्ने कुरा भविष्यले निर्धारण गर्ने हो ।’

यो अभियानलाई नेतृत्व गरिरहेका कांग्रेस नेता शंकर भण्डारी हिन्दु राष्ट्र नेपाल धर्मसँग मात्र सम्बन्धित नभई हाम्रो राष्ट्रियतासँग जोडिएको विषय भएकोले यसलाई नीतिको रुपमा अघि बढाउनुपर्ने बताए ।

उनले भने,‘विश्वका अमेरिका लगायतका मुलुक जस्तै अनेकौँ मुलुकले आफ्नो स्वधर्मलाई संरक्षण गरेर राखेका छन्, तत् धर्मसम्बन्धी विधिलाई पालना गरिरहेका छन्, संसारमा एकमात्र बौद्धिक सनातन हिन्दु सापेक्ष मुलुक नेपाल नै हो । यो सीता, बुद्ध, फाल्गुनन्द, भृकुटी जन्मेको, ऋषीमुखीहरुको तपोभूमी, बेदको रचना भएको हाम्रो यति विशिष्ट देशलाई समाप्त पार्न सदियौँदेखि विभिन्न गतिविधि भएका तथ्यहरु हामीसँग छ ।’

उनले संविधान जारी गर्ने क्रममा त्रुटि भएकोले त्यसलाई सच्याउन, नेपाली जनताको भावना अनुसार चल्न र राष्ट्रियता बचाउनका लागि कांग्रेसले यो नीति लिनुपर्ने बताए ।