१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

मुलुकको भविष्य काँग्रेससँग छ, एकढिक्का भएर अगाडि बढौँ : नेता डा.कोइराला

नेपालब्रिटेन संवाददाता
१२ फाल्गुन २०८०, शनिबार ०५:५१

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शशाङ्क कोइरालाले मुलुकको भविष्य नेपाली काँग्रेससँग भएको बताएका छन् । काँग्रेस पूर्वमहामन्त्री डा.कोइरालाले महासमिति सदस्यको सम्मानमा आज यहाँ आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य काँग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

‘महासमितिसँगै उत्साह र उमङ्ग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा काँग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ’, डा.कोइरालाले भने। काँग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उनको भनाइ थियो । सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

‘विपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि सङ्घर्ष गर्नुभएको थियो, उहाँको सङ्घर्षलाई काँग्रेसले भुल्नुहुँदैन’, उनले भने । जीवन सङ्घर्ष भएकाले सङ्घर्ष गर्न सिक्नुपर्ने नेता डा.कोइरालाको भनाइ थियो ।

काँग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्काले सबैलाई स्वागत गर्दै चियापानले पार्टीभित्र भावनात्मक सम्बन्ध र एकताको सन्देश दिएको बताए। कार्यक्रममा काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत पार्टीका केन्द्रीय तहका नेता, महासमिति सदस्य तथा कार्यकर्ताको सहभागिता थियो ।