७ जेष्ठ २०८१, सोमबार
Follow Us

अभिनेत्री अधिकारी र पूर्व क्रिकेटर भेषवाकरको अंश मुद्दामा अदालतले गर्‍यो फैसला

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०८०, आईतवार १४:०४

काठमाडौँ । पूर्व क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीबीचको मुद्दामा अदालतले अंश पाउने फैसला गरेको छ। नायिका निशाले जिल्ला अदालत, काठमाडौँमा अंशबन्डा र मानाचामल भराउने मागसहित २०७९ भदौमा मुद्दा हालेकी थिइन्।

न्यायाधीश शिशिरराज ढकालको इजलासले निशाले पतिको सम्पतिबाट तीन भागको एक भाग अंश पाउने फैसला सुनाएको हो। उनीहरू २०७४ असारमा वैवाहिक बन्धनमा बाँधिएका थिए। यो दम्पतीको पाँच वर्षको एउटा छोरा छ। निशाले छोरा आफूसँगै रहेको भन्दै तीन भागको दुई भाग सम्पत्तिको दाबीसहित मुद्दा हालेकी थिइन्।

अदालतले उनलाई आफ्नो अंश मात्र पाउने फैसला गरेको हो। छोराको अंश भने साबालक नहुञ्जेलसम्म निशा र शरद दुवैको संरक्षणमा हुने फैसलामा उल्लेख छ। नाबालक छोराको संरक्षणको दायित्व पनि आमाबुवा दुवैको बराबर हुने फैसलामा छ।