१० चैत्र २०८१, सोमबार
Follow Us

इन्द्रेणीका कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०८०, सोमबार १३:५९

काठमाडौं । लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । हिजो आइतबार काठमाडौं जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् ।

इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती करणीको प्रयास भएको भन्दै आइतबार कँडेलविरुद्ध मुद्दा दायर गरेका हुन ।

आफूलाई पटकपटक करणीको प्रयास गरिएको र महिलाकै कोठामासमेत पुगेर करणीको प्रयास भएको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दायर गरेकी हुन ।

पीडित महिलाले मुलुकी अपराध संहिताको दफा २१९, दफा २२३ र दफा २२४ को कसुरमा कारबाहीका लागि फिराद दर्ता गराएकी काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिएका छन ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा जबरजस्ती करणीसम्बनधी कसुर उल्लेख छ भने दफा २२३ मा कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने सम्बनधी कसुरबारे उल्लेख छ । त्यस्ता व्यक्तिलाई करणी गरेमा ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख गरीएको छ ।