१० चैत्र २०८१, सोमबार
Follow Us

विपक्षी दलले उठाएका प्रश्नको जवाफ सरकारले १८ गते दिने

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०८०, सोमबार १४:००

काठमाडौं । प्रतिनिधिसभाको यही फागुन १८ गते बस्ने बैठकमा सरकारले विवादित मन्त्रीको विषय र विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने भएको छ ।

विपक्षी दलहरु नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले विवादित मन्त्रीको राजीनामा माग गर्दै अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेट बैठक स्थगित गरेर दलहरुसँग छलफल गरेका थिए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसमेत सहभागी बैठकमा सरकारले फागुन १८ गते जवाफ दिने सहमति भएको हो । विपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका थिए ।

सहमतिपछि पुनः बसेको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । यसअघि विपक्षी सांसदहरुले प्रधानमन्त्रीलाई ३ दिनको समय दिए पनि जवाफ नदिएको भन्दै आजै जवाफ दिन माग गरेका थिए ।

प्रतिनिधिसभाको हिजोको बैठकमा पनि विपक्षी सांसदहरुले तीन जना मन्त्रीको राजीनामा र सरकारको जवाफ माग गरेका थिए ।