काठमाडौं । हामी नेपालका संस्थापक तथा जेनजी अभियन्ता सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले यो घोषणा गरेका हुन् । ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,’ गुरूङले लेखेका छन् ।
उनले कुन पार्टीबाट चुनाव लड्ने भनेर स्पष्ट उल्लेख गरेका छैनन् । तर पछिल्लो समय गुरूङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, पूर्वऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीचको एकता प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उज्यालो नेपाल पार्टीका संस्थापक घिसिङ रास्वपासँग समायोजनको प्रक्रियामा छन् ।
गत निर्वाचनमा गोरखा–१ मा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । गठबन्धनबाट कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका थिए । गुरूङको उम्मेदवारीले क्षेत्रमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने आकलन गरिएको छ ।