१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

इन्स्पेक्टरसहित ३२ जनाको जिम्मेवारी खोसियो

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०८०, मंगलवार ०६:२७

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लापरबाही देखिएको भन्दै नयाँबानेश्वरस्थित संघीय संसद् भवन सुरक्षार्थ तैनाथ प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित ३२ प्रहरी सुरक्षाकर्मीलाई जिम्मेवारीबाट हटाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा प्रधान कार्यालयले सोमबार साँझ उनीहरुलाई जिम्मेवारीबाट हटाएको हो ।

लघुवित्त ठगीविरुद्ध न्यायको माग गर्दै तराईका विभिन्न जिल्लाबाट दबाबका लागि काठमाण्डु आएका पीडितको एक समूह सोमबार बैठक चलिरहेका बेला निषेधित क्षेत्र तोडेर संघीय संसद भवनभित्र पसेका थिए । उनीहरुले संसद भवन परिसरमा सुतेर नाराबाजी गरेका थिए ।

त्यस क्रममा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षकसहित पुरानालाई हटाएर नयाँलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालय प्रशासन शाखाका एक अधिकृतले जानकारी दिए । घटना छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।