२८ फाल्गुन २०८२, बिहीबार
Follow Us

मोरङ–३ का मतदाता बैगुनी रहेछन: दुर्गा प्रसाईं

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०८२, मंगलवार १४:०७

काठमाडौँ । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेपाली कांग्रेसका नेता डा.सुनिल शर्मा निर्वाचनमा पराजित भएपछि मोरङ–३ का मानिस बैगुनी रहेको प्रतिक्रिया दिएका छन् ।

प्रसाईँले मोरङ–३ का मतदाताले २४ घण्टामै गुण बिर्सिएको टिप्पणी गरेका हुन् । उनले डा. शर्माले सय वटा एम्बुलेन्स वितरण गर्नुका साथै धेरै बिरामीको उपचारमा सहयोग गरेको उल्लेख गर्दै त्यस्ता व्यक्तिलाई पराजित गर्नु दुःखद भएको बताए । ‘मोरङ ३ क्षेत्रका मान्छे बैगुनी छन् । मान्छेले २४ घण्टामा गुण बिर्सिँदो रहेछ । सय ओटा एम्बुलेन्स बाँडे, त्यत्रो बिरामीलाई उपचार गरे । आज कहाँको न कहाँको मान्छेलाई भोट दिएपछि मान्छेलाई वितृष्णा हुनु स्वाभाविक हो’ उनले भने ।

प्रसाईँले डा. शर्मा नेपाली कांग्रेसभित्र भविष्यमा पार्टी सभापति बन्न सक्ने क्षमता भएको नेता भएको दाबीसमेत गरेका छन् । ‘सुनिल शर्मा नेपाली कांग्रेसको पार्टी सभापति हुने लायकको मान्छे हो,’ उनले भने ।

उनले डा. शर्मा सामान्य परिवारबाट उठेर ठुलो स्वास्थ्य सेवा र व्यावसायिक साम्राज्य खडा गर्न सफल भएको उल्लेख गर्दै जीवनभर अरूको सेवा गर्ने व्यक्तिलाई मोरङ–३ का मतदाताले पराजित गरेको टिप्पणी गरेका छन् ।

प्रसाईँले डा. शर्मालाई भोट नदिने मतदाताले नै लाज मान्नुपर्ने अवस्था आएको समेत उल्लेख गरेका छन् । ‘एउटा सुकुम्वासीबाट जन्मेर, त्यतिको एम्पाइर खडा गरेर आफू सुकुम्वासी जस्तो भएर जिन्दगी बिताएर पनि अरूको सेवा गर्ने मान्छेलाई आज ३ नम्बर क्षेत्रले हरायो । सुनिल शर्मालाई लाज हुँदैन, शर्मालाई भोट नहाल्नेहरूलाई चाहिँ लाज हुन्छ’ उनले भने ।

धेरै पढिएको