२६ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्री प्रचण्डले सोमबार सांसदहरुका जिज्ञासाको जवाफ दिनुहुने

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०८०, शनिबार ०७:४१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विपक्षी दलका सांसदलगायत प्रतिनिधिसभा सदस्यले समसामयिक विषयमा उठाएका जिज्ञासाको जवाफ आगामी सोमबार दिने भएका छन् ।

कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसकेको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई एक पत्र पठाएर आगामी सोमबारको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने जानकारी गराएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेयले सङ्घीय संसद्का महासचिवलाई पठाएको पत्रमा फागुन २१ गते सम्बोधन गर्ने गरी व्यवस्था गर्न अनुरोध गरिएको छ ।

प्रतिनिधिसभाको हिजोको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख देवराज घिमिरेले यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए ।