२७ बैशाख २०८१, बिहीबार
Follow Us

लण्डनमा मेयर रेणु दाहालले भनिन् : घुमौँ भतरतपुर

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०८०, बुधबार २३:१६

लन्डन । एउटा अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न लन्डन आइपुगेकी भरतपुर महानगरपालिका मेयर रेणु दाहालको स्वागतमा नेपाली दूतावासले एक कार्यक्रम गरेको छ ।

बुधबार सांझ दूतावास भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले देश विदेशबाट आफ्नो महानगरको काम सुक्ष्म ढंगले अध्ययन गरेरै आफूले अन्तर्राष्ट्रिय अवार्ड पाउन लागेको जानकारी पाएको बताइन् ।

दाहालले भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन भइसकेको जनाउंदै बेलायतवासी नेपालीलाई पनि भरतपुरमा घुम्न आउन निम्तो दिइन् ।

प्राकृतिक सम्पदाले भरिपूर्ण भरतपुरको सही व्यवस्थापन गर्न सके भरतपुरलाई आर्थिक गतिविधिको केन्द्रका रुपमा विकास गर्न सकिने पनि दाहालको भनाइ थियो । ‘भरतपुरको भविष्य छ, हामी यसको समृद्धि गर्न लागिरहेका छौं’, उनले भनिन् ।

उनले राजदूत ज्ञानचन्द्र आचार्यलाई पनि भरतपुर भ्रमण वर्षको औपचारिक निमन्त्रणा दिइन् ।

कार्यक्रममा राजदूत आचार्यले मेयर दाहालको स्वागत गर्र्दै बेलायत नेपाल सम्बन्ध विगत दुई दशकयता जनस्तरमा व्यापक विस्तार भइरहेको बताए ।

राजदूत आचार्यले बेलायतवासी नेपालीले मातृभूमि र बेलायतमै पनि आफ्नो कला, संस्कृति र देशलाई प्रचार प्रसार गरिरहेको उल्लेख गरे । उनले भरतपुर भ्रमण वर्षले समग्र नेपाल भ्रमण वर्षलाई पनि फाइदा पुग्ने बताए ।

कार्यक्रम सञ्चालन गर्दै नियोग उपप्रमुख रोशन खनालले बेलायतको नेपाली समुदाय अत्यन्त क्रियाशील रहेको अवगत गराइन् ।

नेपालीमूलकी एक्लो मेयर निना गुरुङ, काउन्सिलरहरु नेम थापा, कमल गुरुङ, लक्ष्य गुरुङ, धनबहादुर सार्की, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, एनआरएनए निवर्तमान अध्यक्ष कुल आचार्य लगायत प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा भरतपुर भ्रमण वर्ष सम्बन्धि वृत्तचित्र पनि देखाइएको थियो ।

मेयर दाहाल, उनका श्रीमान् र छोरी ज्वाईं १० तारिख बेल्जियम हुंदै केही युरोपेली देश घुमेर १९ मार्चमा नेपाल फर्कने कार्यक्रम छ ।