२७ बैशाख २०८१, बिहीबार
Follow Us

व्यवस्थालाई नजरअन्दाज गरेर खराब भाष्य खडा गर्न पाइँदैन : रामकुमारी झाँक्री

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०८०, शनिबार ११:५८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेत्री रामकुमारी झाँक्रीले अहिलेको व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढङ्गले सोही किसिमको भाष्य खडा गर्ने काम भइरहेको बताएकी छिन् ।

शनिबार काठमाडौँमा आयोजित ‘नेपालमा महिला आन्दोलनको गति र गन्तव्य’ नामक कार्यक्रममा उनले ठूलो संघर्षबाट आएको व्यवस्थालाई नजरअन्दाज गरेर भाष्य खडा गर्ने गलत काम भइरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘आज यो व्यवस्था सानोतिनो संघर्षबाट आएको होइन । व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढङ्गले खराब भाष्य खडा गरिँदैछ । यो एकदमै गलत छ । महिलाको अधिकारलाई अक्षुण राख्नुपर्छ भन्नुको अर्थ आज जे भइरहेको छ यही भनेको हो ? आफ्ना व्यवहारलाई सामाजिक र मर्यादितको सीमा भित्र राख्नुपर्छ कि पर्दैन? अब बन्ने कानुनमा सामाजिक, सीमा र मर्यादाभन्दा बाहिरका सबै क्रियाकलाप सामाजिक अपराध हुन भनेर परिभाषित गरौँ ।’

उनले अहिलेको व्यवस्थाभित्र महिलाले प्राप्त गरेको अधिकार धेरै ठूलो उपलब्धी प्राप्त भएको बताइन् । देशमा अदालत, पुलिस प्रशासनबाट भीड हेरेर मात्र निर्णय गर्ने र निवेदन लिने प्रवृत्ति हाबी भएको उनको भनाई छ ।