१५ बैशाख २०८१, शनिबार
Follow Us

दुई प्रहरी घुससहित पक्राउ

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०८०, सोमबार ०७:०८

काठमाडौँ । प्रहरी चौकी कान्तिबजार, महोत्तरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र वरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उक्त रकमसहित महोत्तरीको गौशाला नगरपालिका वडा नं. १२ स्थित गैरीटोलबाट आइतबार नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ । महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बर्दिबासबाट खटिई गएको अख्तियारको टोली उनीहरूलाई पक्राउ गरेको हो ।

प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिले लिजमा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसाय गर्न बाधा अवरोध पुर्‍याएको हुँदा बाधा अवरोध रोक्नको लागि महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गराएकोमा उक्त बाधा अवरोध रोकी विद्यालयले ठेक्का दिई भोगचलन गर्न चलन पूर्जी दिएको सो जग्गा र जग्गामा भएको फलफूलहरू, खेतीपाती उपभोग गर्न कुनै प्रकारको अवरोध सिर्जना गराउने कार्य नगर्नु/नगराउनु भनी महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिई गएको टोलीले प्रहरी चौकी, कान्तिबजार, महोत्तरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र ऐ.ऐ. का वरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झालाई सेवाग्राहीबाट रू. २०,०००(बीस हजार रुपैयाँ) घुस/रिसवत लिइरहेको अवस्थामा उक्त रकम रू. २०,००० सहित जिल्ला महोत्तरी, गौशाला नगरपालिका वडा नं. १२ स्थित गैरीटोलबाट मिति २०८०/११/२७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’