२७ बैशाख २०८१, बिहीबार
Follow Us

श्रीमान्-श्रीमतीको शक्ति सङ्घर्ष कि सत्ता स्वादको दाऊ

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०८०, बिहीबार ०६:४२

काठमाडौँ । सत्ता गठबन्धनलाई लिएर नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा दुई धार देखिएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षक रहेका उनका श्रीमान् रेशम चौधरी बीचको विवाद अहिले उत्कर्षमा छ ।

श्रीमान्-श्रीमतीको विवादले पार्टी नै अनिर्णयको बन्दी बनेको छ । पार्टी दुई वर्षमै विवादले विभाजनको दिशातर्फ जाला भन्ने नेता तथा कार्यकर्तामा छ । विवाद छताछुल्ल भएपछि कि पार्टी विभाजन हुन्छ, कि त श्रीमान्-श्रीमतीबिचको सम्बन्धमै असर पर्छ भन्नेसम्मको चर्चा छ ।

श्रीमान्–श्रीमतीको विवाद बाहिर छताछुल्ल भएपछि रेशम श्रीमतीलाई सम्झाउन काठमाडौँ आई पुगे, तर श्रीमतीलाई सम्झाउन भने सकेनन् । दुई घण्टा वार्ता गर्दा पनि सम्झाउन नसकेको उनले खुलाएका छन् ।

रेशमले आफू र पार्टी अध्यक्ष रन्जिताबीचको असमझदारी घर झगडा नभएर राजनैतिक रहेको प्रष्टीकरण दिए । आफू र श्रीमती रन्जिताको विषयमा उनले सञ्जालमा लेखेका छन्, ‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन् ।’ उनले रन्जिताको भनाइ उदृत गर्दै भनेका छन्, ‘प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न ।’

चौधरीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका बन्दी रिहाइ गरेकाले उनको साथ छोड्नु नहुने रञ्जिताले बताएकी हुन् । नेता रेशमले लेखेका छन्, ‘मेरा कारण लाखौँ जनताको मन दुखेको मलाई अनुभूत भएको छ, त्यस कारण म क्षमा चाहन्छु । तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन ।’

नाउपाकी अध्यक्ष श्रेष्ठले रेशमसँग वैचारिक मतभेद रहेको स्वीकारेकी छन् । तर, फरक विचार भएकै कारण आफूहरूको परिवार नफुट्ने उनको प्रष्टीकरण छ । बुधबार दिउँसो संसद् भवन नयाँ वानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै रञ्जिताले बिहान रेशमले स्ट्याटस लेख्दा आफूसँगै रहेको बताइन् ।

‘हिजो हाम्रो बीचमा छलफल भएको थियो । म र रेशमजीले पार्टीगत रूपमा बसेर छलफल गरेका थियौँ । त्यही अनुसार उहाँले लेख्नुभएको हो’ रञ्जिताले भनिन् । आफूहरूका बीचमा फरक विचार भएकै कारणले परिवार नफुट्ने पनि उनले बताइन् ।

श्रीमान्-श्रीमतीसँगै रहेर बिचार बनाउने र कार्यकर्ता तथा जनतालाई भ्रममा पार्न सञ्जालमार्फत भनाइ सार्वजनिक गर्नुले पार्टी सरकारको स्वाद चाख्नमै व्यस्त रहेको आरोप लागेको छ । संघीय सरकारमा पनि सहभागी हुने र प्रदेशमा पनि आफ्नो स्ट्यान्ड लिई राख्ने दाउमा नाउपा छ । नाउपाका सांसदहरु सुदूरपश्चिम प्रदेशमा मन्त्री बन्नेका छन् भने सरकारी सुविधा पनि लिएका छन् । जसमा श्रीमान्-श्रीमतीले भूमिका खेलिरहेका छन् ।

त्यसो त अध्यक्ष रञ्जिताको अनुपस्थितमा टीकापुरमा मङ्गलवार बसेको पार्टीको केन्द्रीय समिति बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको थियो, तर बुधबार पार्टीले प्रचण्डलाई विश्वासको मत दिएको छ । एमाले र माओवादी गठबन्धन हुँदा नाउपा सरकारको समर्थक थियो । काँग्रेस र माओवादी गठबन्धन हुँदा सरकारमा सामेल भयो । नाउपाको संघीय सरकारमा सहभागिता, सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा महत्त्वपूर्ण मन्त्रालयको मोटामोटी समझदारी भएको नेताहरू बताउँछन् ।

नाउको भूमिका सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि निर्णायक छ । प्रदेशसभामा उक्त पार्टीका सात सांसद छन् । संस्थापक रेशम काँग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई नै समर्थन गर्ने पक्षमा छन् । सातमध्ये पाँच सांसद मन्त्री पनि बनिसकेका छन् ।

तर, अध्यक्ष श्रेष्ठले भने काँग्रेस नेतृत्वको सरकारलाई समर्थन नरहेको भन्दै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएकी छन् । तर, उनको निर्देशन कार्यान्वयन भई सकेको छैन ।

पार्टीभित्र पैदा भएको सङ्कट विचित्रको छ । पार्टीलाई जन्माएका रेशमसँग यति बेला कुनै वैधानिक अधिकार छैन । कार्यकारी अधिकार भएकी अध्यक्ष रञ्जितासँग पार्टीको दुई तिहाइ बहुमत आफ्नो प्रतिकुल छ ।

गत पुस २६-२८ सम्म कैलालीमा आयोजित पहिलो राष्ट्रिय महाधिवेशनबाट रेशम अध्यक्ष चुनिए । रेशमको अध्यक्षतामा बसेको बैठकले रञ्जितालाई सहअध्यक्ष मनोनीत गर्‍यो । गत जेठ १५ मा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएर जेलबाट छुटेसँगै रेशम पार्टीमा सक्रिय हुन थालेका हुन् । उनको सक्रियताप्रति अध्यक्ष रञ्जिता असन्तुष्ट छन् । निर्वाचन आयोगले ज्यान मुद्दामा दोषी ठहर भएको कारण दिएर २४ फागुनमा रेशमलाई अयोग्य ठहर गरेको छ । आयोगले उनलाई अध्यक्ष मात्र होइन पार्टी सदस्यसमेत हुन अयोग्य ठहर गर्दै रेशमको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको भन्दै महाधिवेशनलाई नै वैधानिकता दिन अस्वीकार गरेको छ । आयोगको यो निर्णयसँगै रञ्जिता स्वतः अध्यक्ष भएकी हुन् ।

पार्टीमा देखिएको विवादबारे बोल्न सांसदहरु बोल्न चाहँदैनन् । कतै सत्ताको स्वाद चाख्न पाइन्छ कि भन्ने लालसा उनीहरूमा पनि छ ।