१९ बैशाख २०८१, बुधबार
Follow Us

झन्डै अर्को गठबन्धन बनिसकेको थियो: माधव नेपाल

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०८०, शनिबार १३:११

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पदलाई आफूले महत्व नदिँदा अर्को गठबन्धन बन्न नपाएको दाबी गरेका छन ।

आज (शनिबार) पार्टीको रौतहट–काठमाण्डु सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन । उनले आफूहरू पद भन्दा पनि सुशासन र देशमा विकासका कामहरू अगाडि बढ्नुपर्ने पक्षमा रहेकाले अर्को गठबन्धन बन्न नपाएको दाबी गरेका छन ।

उनले भने, ‘झन्डै झन्डै दुर्घटना भइसकेको थियो। हामीलाई समयमा सूचना नमिलेको भएकाले अर्कै गठबन्धन बन्ने कुरा आइसकेको थियो, ‘पदलाई महत्त्व दिएनौं। जसरी पनि प्रधानमन्त्री बन्नुपर्छ भन्ने होइन।’ उनले सुशासनका लागि परिवर्तनकारी शक्तिहरू र समाजवादी शक्तिहरू मिलेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफू रहेको पनि बताएका छन ।

अध्यक्ष नेपालले कांग्रेसलाई शत्रु घोषणा गर्ने कुरा कुनैपनि हालतमा उचित नहुने दाबी गरेका छन । उनले संविधान, गणतन्त्र र संघीयतालाई समाप्त पार्ने प्रवृत्ति बोकेका पार्टीहरू प्रमुख समस्याका रूपमा रहेको समयमा त्यसको रक्षाका निम्ति भूमिका खेल्ने पार्टीलाई शत्रु घोषणा गर्न नहुने बताएका छन ।

उनले भने, ‘संविधानको पक्षपोषण, गणतन्त्रको रक्षाको भूमिका खेल्न सक्दछ त्यसलाई शत्रु घोषणा गर्ने कुरा कुनै हालतमा उचित हुँदैन भन्ने बुझ्न जरूरी छ ।’ उनले कांग्रेससँग संघर्षसँगै सहकार्य पनि हुने बताए।अहिले शत्रुभन्दा पनि मित्र बनाउनुपर्ने बेला रहेको पनि उनले बताएका छन ।

एकीकृत समाजवादीले जोसँग सहकार्य गर्दा हित हुन्छ त्यहीसँग सहकार्य गर्न पनि अध्यक्ष नेपालले बताएका छन । उनले भने, ‘तर हाम्रो पार्टीलाई अस्वीकार, बेवास्ता र धोका दिने काम गर्नेलाई त्यसप्रति हामी सजग हुन्छौं ।’अध्यक्ष नेपालले सबै पार्टीमा अनेक खालका बिकारहरू देखा परेका बताउँदै त्यस्ता विकृतिहरूलाई छुट दिन नहुने पनि बताएका छन।