१९ बैशाख २०८१, बुधबार
Follow Us

अब कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको छ: रामहरि खतिवडा

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०८०, शनिबार १३:१३

काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो पार्टी संसद्लाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको दाबी गरेका छन । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले संसद् अवरुद्ध पारिरहेका बेला सांसद खतिवडाले यस्तो बताएका हुन ।

आज (शनिबार) ढुवानी व्यवसायी महासङ्घ, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन । उनले कानुन निर्माण गर्ने थलो संसद्लाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखी अघि बढाउनका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको पनि बताएका छन्।

उनले भने, ‘अहिले संसद‌्मा अलिकति खच्याकखुचुक भएको तपाइहरुले देख्नुभएको छ । संसदीय व्यवस्था हो । कहिले माननीय मन्त्रीजीहरूले हिजो, अस्तिसम्म भन्नुहुन्थ्यो, आज हामीले भनेका छौँ । तर हामी यति प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ– हामी संसद्लाई बन्धक बनाएर जनताको कानुन निर्माण गर्ने ठाउँलाई बन्धक बनाएर, तर्साएर, थर्काएर होइन । एउटा संसदीय पद्धतिअनुसार मुलुकलाई नयाँ बाटोमा लैजानुपर्छ भन्ने छ ।’

उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रियसभामा गरेर प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न सके मुलुकलाई स्थिर सरकार दिन सक्ने भएकाले त्यसका लागि पनि कांग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको दाबी गरेका छन ।

सांसद खतिवडाले मुलुकलाई अघि बढाउनका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने हुनाले त्यस क्षेत्रमा देखिएका समस्या समाधान गरेर अघि बढ्न आफ्नो पार्टीले सक्दो सहयोग गर्ने पनि बताएका छन ।