१९ बैशाख २०८१, बुधबार
Follow Us

आरके र कुँवरलाई परराष्ट्र मन्त्री श्रेष्ठले भने : तपाईहरु एनआरएन भन्दा लाज भैसक्यो !

नेपालब्रिटेन डट कम्
४ चैत्र २०८०, आईतवार १९:११

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र विवाद बढिरहेका बेला उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मिलेर अघि बढ्न तीन वटै समूहलाई दवाव दिएका छन् । श्रेष्ठले एनआरएनएहरु तीन भागमा विभाजित हुनुले राम्रो सन्देश नजाने भन्दै मिलेर जान दवाव दिएका हुन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठको नयाँ सत्ता समीकरणअनुसार गृहबाट परराष्ट्र मन्त्रालयमा सरुवा भएसँगै तीन वटै एनआरएनएका अध्यक्षहरू बेग्लाबेग्लै रूपमा बधाई तथा शुभकामना दिन पुगेका थिए ।

सो क्रममा उनीहरूले एनआरएनएको विवादको प्रसङ्ग उठाउँदै समस्या समाधानमा सहजीकरणको भूमिका खेल्न आग्रह गरेपछि श्रेष्ठले पहिला मिलेर आउन दवाव दिएका हुन् । स्मरणीय छ, गैरआवासीय नेपाली संघ परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो ।

परराष्ट्र मन्त्रालय मातहतकै संस्था मूल मुद्दालाई छाडेर स्वार्थ केन्द्रित गतिविधिमा संलग्न भएर विवादमा फसेको भन्दै श्रेष्ठले आक्रोश समेत पोखेका थिए । एनआरएनएको विनोद कुँवर समूहले आइतबार परराष्ट्रमन्त्रीलाई भेट्दा अरु दुई समुहका अध्यक्ष बद्री केसी र आरके शर्माले शनिवार परराष्ट्रमन्त्रीलाई उनकै निवासमा पुगेर छुट्टाछुट्टै भेटेका थिए । कुँवर १० औँ महाधिवेशनमा छुट्टै महाधिवेशनमार्फत नेतृत्वमा आएका थिए भने उनले आधिकारिकताका लागि दाबी गर्दै आएका छन् ।

यस्तै ११ औँ महाधिवेशनमा निर्वाचनका क्रममा धाँधली भएको भन्दै बद्री केसीको नेतृत्व अस्वीकार गरेर शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएर छुट्टाछुट्टै गतिविधि हुँदै आएको छ ।

संघभित्रको तीव्र राजनीतिकरण र खिचातानीले एनआरएनए विभाजित भएको बताइएकै बेला यो कचिङलका विषयमा परराष्ट्रमन्त्रीले पनि आक्रोश पोखेको एक अभियन्ताले जानकारी दिए । उनले नमिले दर्ता नवीकरणसहितका आवश्यक काममा सहजीकरण नगरिदिने चेतावनी समेत दिएको बताइएको छ ।

शनिवार परराष्ट्रमन्त्रीलाई बधाई तथा शुभकामना दिन पुगेको विनोद कुँवर समूहका प्रतिनिधिहरूसँग श्रेष्ठले एनआरएनए भन्दा आफूलाई लाज लाग्ने अवस्था भइसकेको भन्दै कटाक्ष गरेका थिए । ‘एनआरएनए भन्दा तपाईंहरुलाई भन्दा बढी हामीलाई लाज भइसक्यो’, उनको भनाइ उद्धृत गर्दै अध्यक्ष विनोद कुँवरले भने, ‘तपाईंहरु मिल्न जरुरी छ । मिलेर आउनुस्, रातोपाटीमा खबर छ ।

यस्तै ११ औँ महाधिवेशनबाट बद्री केसीविरुद्ध नयाँ कार्यसमिति बनाएका आरके शर्माले पनि परराष्ट्रमन्त्रीले आफूहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको स्वीकार गरे । एनआरएनएको मुद्दा र एजेन्डा एकातिर र बेथिति अर्कोतिर हुँदा यसले समस्या थप बढाउने उनको भनाइ थियो ।

‘मध्यपूर्वमा श्रमिकको समस्या धेरै छन्, पहिलो त्यो समस्या समाधानमा लाग्नुस्’, श्रेष्ठको भनाइ थियो, ‘युरोप, अमेरिका धेरैतिर नेपालीहरू पीडामा छन्, मिलेर नेपालीको हितमा काम गर्नुस् । लगानी भित्र्याएर देशको आर्थिक समृद्धिमा ज्यान दिनुस् ।’

श्रेष्ठले सबै मिलेर नआउँदासम्म आफूलाई सहकार्य गर्न असहज हुने भन्दै एकजुट हुन दबाब बढाएको बताइएको छ । हुन पनि एनआरएनएको तर्फबाट आवश्यक पहलकदमी नहुँदा १० वर्षअघि एनआरएनएबाट नेपालमा लगानी भएको सेयर बिक्री गर्न समस्या रहेको अभियन्ताहरू बताउँछन् ।

यस्ता विषयलाई समाधानमा पहलकदमी लिनुपर्नेमा तीन भागमा विभाजित एनआरएनए विवादमै रुमल्लिइरहेको उनको भनाइ थियो । यस्तै गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएपनि गैरआवासीय नेपालीहरू भिसा लगाएरै नेपाल आउनुपर्ने अवस्था छ । समग्रतामा भन्दा गैरआवासीय नेपाली परिचयपत्रबाहेक अन्य सरकारी कामकाजमा प्रयोग हुन नसकेको स्थिति छ ।

यही अवस्थालाई बुझेर श्रेष्ठले संघलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिएको भेटमा सहभागी अभियन्ताहरूको भनाइ छ । सीमित व्यक्ति नेतृत्वमा भए पनि लाखौँ गैरआवासीय नेपालीको हितमा संघले काम गर्न सक्नुपर्ने र त्यसका लागि विश्वासको वातावरण बनाइनुपर्ने श्रेष्ठको भनाइ थियो ।

श्रेष्ठलाई भेट्न पुगेका बद्री केसीसँग श्रेष्ठ सबैभन्दा बढी आक्रामक बनेको बताइएको छ । भेटका क्रममा श्रेष्ठले आफू एनआरएनएको विवादबारे जानकार रहेको भन्दै संघको स्थापनाकालदेखि नै लागेको नाताले बद्री केसीले बढी पहलकदमी लिनुपर्नेमा जोड दिएका थिए ।

‘तपाईंहरुको संस्थामा सरकारले हस्तक्षेप चाहेको छैन । तर, पहिला मिल्न त पर्यो नि । यसमा सबैभन्दा बढी भूमिका तपाईंले खेल्नुपर्योे’, श्रेष्ठको भनाइ थियो । श्रेष्ठले नेपाल सरकार गैरआवासीय नेपालीहरूसँग मिलेर काम गर्न आफू उत्साहित रहेको बताउँदै सबै एनआरएनए एकजुट भए तुरुन्तै संस्था नवीकरण गर्न समस्या नभएको बताएका थिए ।

मन्त्रीको यस्तो भनाइपछि केसीले संस्थाको विधि तथा विधानको अधीनमा रहेर गैरआवासीय नेपाली संघभित्रको भ्रातृत्व र एकतालाई कायम गर्न आफू पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका थिए ।