१३ कार्तिक २०८२, बिहीबार
Follow Us

सरकार र राजनीतिक दलहरूलाई बौद्धिक समुदायको सात बुँदे अपिल

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०८२, बिहीबार ११:११

देशका प्रख्यात बौद्धिक, लेखक, शिक्षाविद्, नागरिक समाजका अगुवा र मानवअधिकारकर्मीहरूले संयुक्त रूपमा सरकार र राजनीतिक दलहरूलाई सात बुँदे अपिल जारी गरेका छन्। भदौ २३–२४ गतेको जेन-जी पुस्ताको विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सम्बोधन गर्दै उनीहरूले आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्न आग्रह गरेका छन्।

अपिलमा भनिएको छ, “ऐतिहासिक जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट बनेको संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य राष्ट्रिय दायित्व हो। तर त्यसका लागि सरकार र सबै पक्षबीच विश्वास र सहकार्य आवश्यक छ।”

बौद्धिकहरूले सरकारलाई राजनीतिक दल र जेन-जी आन्दोलनकारीहरूसँग संवाद गरी सबैलाई विश्वासमा लिएर निर्वाचनको विश्वसनीय र अनुकूल वातावरण सिर्जना गर्न आह्वान गरेका छन्। उनीहरूले लोकतान्त्रिक मूल्य–मान्यता, संविधान, विधिको शासन, मानव अधिकार र नागरिक सर्वोच्चतालाई मार्गदर्शक सिद्धान्त मानेर अन्तरिम सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरेका छन्।

अपिलमा हालको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सरकारलाई शान्ति–सुरक्षा सुदृढ गर्न, प्रहरीका हातहतियार र स्रोत-साधन पुनःव्यवस्था गर्न तथा समाजमा भय र आतंक फैलिन नदिन आग्रह गरिएको छ।

संविधान अनुसार छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन नभए नयाँ राजनीतिक र संवैधानिक संकट निम्तिने चेतावनी दिँदै बौद्धिकहरूले सबै राजनीतिक दलहरूलाई “यदि, तर” नभनी निर्वाचनमा सहभागी हुन अपिल गरेका छन्। उनीहरूले विघटित प्रतिनिधिसभामा रहेका प्रमुख दलका शीर्ष नेताहरूले नैतिक जिम्मेवारी लिई स्वेच्छिक अवकाश लिनुपर्ने माग समेत गरेका छन्।

जेन-जी विद्रोहपछि बनेको विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै अपिलकर्ताहरूले सबै दलहरूले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न, संस्थागत पुनर्गठन गर्न र नवयुवा पुस्ताको एजेन्डा तथा भावना समेट्ने नीति अवलम्बन गर्न आवश्यक भएको बताएका छन्।

भदौ २३ र २४ गतेका घटनामा सरकारी दमन, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीबारे निष्पक्ष छानबिन गर्न, दोषीमाथि कारबाही गर्न र दण्डहीनता रोक्न पनि सरकारलाई आग्रह गरिएको छ।

उक्त सात बुँदे अपिलमा अर्चना थापा, इन्द्र अधिकारी, उद्धव प्याकुरेल, उत्तमबाबु श्रेष्ठ, कसमस विश्वकर्मा, कृष्ण खनाल, केदारभक्त माथेमा, खगेन्द्र संग्रौला, गेजा शर्मा वाग्ले, तारानाथ दाहाल, तुलानारायण शाह, भोजराज पोखरेल, मीना पौडेल, श्रवण मुकारुङ, युग पाठकसहित ३० जना प्रख्यात व्यक्तित्वहरूको हस्ताक्षर रहेको छ।

अपिलमा लोकतान्त्रिक अभ्यासलाई पुनर्स्थापना गर्न, दलहरूलाई जवाफदेही बनाउन र नवयुवा पुस्ताको आकांक्षा अनुसार देशलाई अगाडि बढाउन सबै पक्षलाई जिम्मेवार र संवेदनशील बन्न आह्वान गरिएको छ।

सरकार र राजनीतिक दलहरूलाई अपिल
१. गत भदौ २३-२४ गतेको जेन-जी पुस्ताको विद्रोह सफल भई बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ । ऐतिहासिक जनआन्दोलनबाट स्थापित भएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभामार्फत बनेको संविधानको रक्षाका लागि निर्धारित मितिमा नै निर्वाचन गर्नु आजको राष्ट्रिय दायित्व हो । तर सरकारले अनुकूल र विश्वसनीय वातावरण सिर्जना गर्नु निर्वाचनका लागि अनिवार्य पूर्वसर्त हो । त्यसैले राजनीतिक दल र आन्दोलनकारी जेन-जी समूहहरूसँग संवाद गरी सबैलाई विश्वासमा लिएर निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्न विश्वसनीय वातावरण सिर्जना गर्न सरकारलाई हार्दिक अपिल गर्दछौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर निष्ठापूर्वक न्याय सम्पादन गर्नुभएकी श्रीमती सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले लोकतान्त्रिक मूल्य-मान्यता, संविधान, विधिको शासन, मानव अधिकार र नागरिक सर्वोच्चतालाई मार्गनिर्देशक सिद्धान्त मानेर आफ्नो विशेष जिम्मेवारी पूरा गर्ने विश्वास लिएका छौं ।
२. निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि शान्ति-सुरक्षा पहिलो सर्त हो । तर शान्ति-सुरक्षाको दृष्टिले अहिले चुनौतीपूर्ण देखिन्छ । एकातिर सुरक्षा निकायको मनोबल अत्यन्त कमजोर छ भने अर्कोतिर नेपाल प्रहरीका ११०० भन्दा बढी हातहतियार लुटिएको सूचना सरकारले नै जारी गरेको छ । नेपाल प्रहरीका अधिकांश कार्यालय जलाइएका छन्, सञ्चार उपकरण पर्याप्त छैनन्, उनीहरूसँग पोशाक र सुरक्षाका न्यूनतम उपकरणसमेत छैनन् । गम्भीर अपराधमा संलग्न जेलबाट भागेका कैदीबन्दी र अपराधीहरूले हत्या, चोरी, डकैती गर्न थालेपछि समाजमा भय र आतंकको वातावरण सिर्जना भएको छ । त्यसैले सुरक्षा निकायको मनोबल उच्च बनाई आवश्यक साधन-स्रोत व्यवस्थापन गरी अविलम्ब शान्ति-सुव्यवस्था बहाल गर्न सरकारको ध्यान आकर्षण गर्न चाहन्छौं ।
३. राजनीतिक दलहरूले पनि यदि, तर नभनी फागुन २१ को निर्वाचनमा सहभागी हुन हार्दिक अपिल गर्दछौं । नेपालको संविधान अनुसार यदि छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन नभएको अवस्थामा अर्को गम्भीर राजनीतिक तथा संवैधानिक संकट सिर्जना हुने वास्तविकताप्रति दलहरूको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छौं ।
४. विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्व (सभापति/अध्यक्ष) ले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुपर्छ । यो केवल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वेच्छिक अवकाश अपरिहार्य भएको वास्तविकता पनि स्पष्ट पार्न चाहन्छौं ।
५. जेन-जी विद्रोहपछि सिर्जना भएको विशेष र असाधारण राजनीतिक परिवेशलाई मध्यनजर गर्दै लोकतान्त्रिक अभ्यास अनुसार विघटित संसदमा प्रतिनिधित्व गर्ने सबै दलले अविलम्व विशेष महाधिवेशन गरी ती दलले नयाँ नेतृत्व चयन गर्नु आवश्यक छ । यसैगरी विशेष महाधिवेशनबाट दललाई मौलिक रूपमा पुनर्गठन र रूपान्तरण गर्नु आवश्यक छ । यदि जनभावना अनुसार दलले आफूलाई पुनर्गठन, रूपान्तरण र शुद्धीकरण नगरे थप अलोकप्रिय, कमजोर र अनुत्तरदायी हुने भन्ने वास्तविकता पनि स्मरण गराउन चाहन्छौं ।
६. विशेष महाधिवेशनबाट केवल नयाँ नेतृत्व मात्रै होइन, परिवर्तित परिदृश्यमा जनता र विशेष गरी नवयुवा पुस्ताको एजेन्डा, भावना र प्रतिनिधित्वसमेत सुनिश्चित गरी समयसापेक्ष राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक नीति अंगीकार गर्नु आवश्यक छ । नयाँ नेतृत्व र नयाँ नीतिको आधारमा निर्वाचनमा दलहरू सहभागी हुन हार्दिक अपिल गर्दछौँ ।
७. भदौ २३ गतेको सरकारी दमन तथा नवयुवाको हत्या र २४ गतेको विध्वंश, अराजकता, सार्वजनिक तथा निजी सम्पत्ति र सञ्चारगृहको तोडफोड, आगजनी र आक्रमणको बारेमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई हार्दिक अपिल गर्दछौं । तर भदौ २३ र २४ को घटनाको छानबिन गर्ने आयोगको बहाना बनाएर घटनामा संलग्न अपराधीलाई कारबाही नगरे दण्डहीनता तथा अपराधिक प्रवृत्तिलाई प्रोत्साहन गरी विधिको शासनको आधारभूत मूल्य र मान्यताप्रति प्रश्नचिन्ह खडा हुने वास्तविकताप्रति सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छौं ।

१. अर्चना थापा
२. इन्द्र अधिकारी
३. उद्धव प्याकुरेल
४. उत्तमबाबु श्रेष्ठ
५. कसमस विश्वकर्मा
६. कृष्ण खनाल
७. केदारभक्त माथेमा
८. केशव दाहाल
९. खगेन्द्र संग्रौला
१०. गेजा शर्मा वाग्ले
११. चरण प्रसाई
१२. चन्द्रकिशोर
१३. झलक सुवेदी
१४. दिनेश त्रिपाठी
१५. दीपेश घिमिरे
१६. दोभान राई
१७. तारानाथ दाहाल
१८. तुलानारायण शाह
१९. भोजराज पोखरेल
२०. मुमाराम खनाल
२१. मीना पौडेल
२२. रजनी ढकाल
२३. राजाराम गौतम
२४. लोकराज बराल
२५. विद्याधर मल्लिक
२६. विनोद सिंजापति
२७. संगीता लामा
२८. सञ्जीव उप्रेती
२९. श्रवण मुकारुङ
३०. युग पाठक

धेरै पढिएको