२६ बैशाख २०८१, बुधबार
Follow Us

पृथ्वीको तापक्रम सन् २०२४ मा थप बढ्ने संयुक्त राष्ट्रसंघको चेतावनी

नेपालब्रिटेन संवाददाता
७ चैत्र २०८०, बुधबार ०५:४१

लन्डन । पृथ्वीको तापक्रम गत वर्षको भन्दा बढेसँगै संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ । राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन, डब्ल्युएमओको प्रारम्भिक प्रतिवेदनले सन् २०२३ हाल सम्मकै तातो वर्ष रहेको पुष्टि गरेको छ ।

गत वर्ष नजिकको सतहको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा एक दशमलव ४५ डिग्री सेल्सियस बढी रहेको डब्ल्युएमओले बताएको छ । यो एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नजिक हो ।

सन् २०१५ को पेरिस जलवायु सम्मेलनका सहभागी मुलुकहरू एक दशमलव पाँच डिग्री सेल्सियसको सीमाबाट बच्न सहमत भएका थिए । “सन् २०२४ ले सन् २०२३ को रेकर्ड तोड्ने उच्च सम्भावना रहेको डब्ल्युएमओका जलवायु अनुगमन प्रमुख ओमान बद्दुरले बताउनु भएको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी सङ्कटमा रहेको सङ्केत गर्नुहुँदै जीवाश्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याएको बताउनु भएको छ । डब्ल्युएमओको केन्द्रीय कार्यालय रहेको स्विट्जरल्यान्डले विगत दुई वर्षमा आफ्नो अल्पाइन हिमनदीहरुको १० प्रतिशत मात्रा गुमाएको छ । अन्टार्कटिक समुद्रमा पनि बरफको मात्रा सबैभन्दा कम रेकर्ड भएको थियो ।

जलवायु परिवर्तनले बाढी, पहिरो, जैविक विविधतामा क्षति, खाद्य असुरक्षाजस्ता चरम मौसमी घटना तथा समस्याहरू निम्तिरहेका छन् । विश्वभर खाद्य असुरक्षित मानिसको सङ्ख्या दोब्बरले बढ्दै गइरहेको छ । यो सङ्ख्या कोभिड–१९ अघि १४ करोड १९ लाख थियो भने सन् २०२३ को अन्त्यमा ३३ करोड ३० लाख पुगेको पनि डब्ल्युएमओले जनाएको छ ।

डब्ल्युएमओले बढ्दै गरेको नवीकरणीय ऊर्जा उत्पादनलाई भने आशाको किरणका रूपमा प्रस्तुत गरेको छ । सन् २०२२ को तुलनामा गत वर्ष नवीकरणीय ऊर्जा उत्पादन क्षमता– विशेषतः सौर्य, वायु र जलविद्युत्मा ५० प्रतिशतले वृद्धि भएको थियो ।