१५ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतका १० वटा सिने हलमा कमेडी फिल्म ‘महाजात्रा’

नेपालब्रिटेन डट कम्
१० चैत्र २०८०, शनिबार १४:२०

लण्डन । शुक्रबारदेखि नेपालका हलमा रिलिज भएको महाजात्रा बेलायतका हलमा समेत हेर्न पाइने भएको छ ।

नेपाली फिल्म ‘महाजात्रा’ कमेडी जनरामा आधारित चलचित्र हो । ‘महाजात्रा’ फेलथाम, अल्डरशट, इलफोड, लुटन, स्वीण्डन, बेजिङस्टक लगायत १० वटा सिने हलमा शुक्रवार देखिनै प्रर्दशन सुरु भएको हो ।

‘महाजात्रा’ सन् २०१६ को फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला हो । अघिल्ला श्रृंखलाजस्तै यो फिल्म पनि अकस्मात आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्ष र त्यसको परिस्थितिको कथामा आधारित छ । हाँसो र संवेदना मिश्रण गरिएको यो फिल्मले राजनीति र भ्रष्टाचारको ‘नेक्सस’विरुद्ध कटाक्ष गर्छ ।

फिल्ममा विपिन कार्की, रवीन्द्र झा र रविन्द्रसिंह बानियाँको शीर्ष भूमिका छ । आफूहरुलाई दिइएको जोखिमपूर्ण कामलाई यी पात्रले फत्ते गर्छना या गर्दैनन् ? पैसा कमाउने र परिवारलाई सुखी बनाउने सपना देखेका यी मध्यमवर्गीय पात्रले कसरी कथालाई अघि बढाउँछन्, यसलाई रोचक ढंगबाट पेश गरिएको छ ।

फिल्ममा हरिवंश आचार्यसहितका अन्य कलाकार पनि छन । फिल्ममा हरिवंशलाई भ्रष्ट नेताको भूमिकामा चित्रण गरिएको छ । प्रदीप भट्टराई निर्देशित यो फिल्मलाई षट्कोण आट्र्सले निर्माण गरेको हो ।