२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०८०, सोमबार १४:११

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी असार १५–१६ गते (२९–३० जुन २०२४)मा आयोजना गर्न लागेको प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र रुपमा अघि बढाएको छ । सोही सन्दर्भमा आज अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भगवती चौधरीसँग भेटेर सम्मेलनको अवधारणापत्र बुझाएको छ ।

भेटमा डा केसीले सम्मेलनमा नेपाल सरकारको सहकार्यका लागि अनुरोध गर्दै यसअघि पनि विभिन्न चरणमा भएका छलफलको जानकारी गराए । उनले मन्त्री चौधरीको संयोजकत्वमा एक उच्चस्तरीय आयोजक समिति गठन गरी अन्तर्राष्ट्रिय महिला सम्मेलनलाई सफल पार्नका लागि आवश्यक निर्देशन एवं सहयोग गर्नका लागि समेत मन्त्री चौधरी समक्ष अनुरोध गरेका थिए ।

जवाफमा मन्त्री चौधरीले संघले आयोजना गर्न लागेको सम्मेलनले स्वदेश तथा विदेशमा रहेका सबैलाई समेटनुपर्नेमा जोड दिँदै समिति गठन एवं अन्य तयारीका लागि सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश जाने उहाँले विश्वास व्यक्त गरिन ।

संघले सन् २०२४ को २९–३० जुन (२०८१ असार १५ र १६) मा काठमाडौंमा प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनको तयारी स्वरुप यसअघि पनि मन्त्रालय तथा राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत अन्य सरोकारवाला निकायसँग छलफल गरिएको थियो ।

भेटमा महिला उपाध्यक्ष रोजिना प्रधान राईले महिला सम्मेलनमार्फ स्वदेशका ग्रामीण भेगदेखि विश्वमा उदाहरणीय बनेका महिलालाई साक्षतकार गराउने, महिला बालबालिकाको उत्थान, महिला सशक्तिकरण, स्वास्थ्य शिक्षालगायतका विषयमा बृहत छलफल गर्ने र सोही आधारमा सरकार तथा सरोकारवाला निकायलाई सुझाव पेश गर्ने बताइन । यस्तै महिला सचिव टीका गुरुङले संघले सडक बालबालिकाका लागि हाल सञ्चालन गरिरहेका परियोजनाको बारेमा मन्त्रीसमक्ष जानकारी गराएकी थिइन ।

भेटमा महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायतको उपस्थिति थियो ।