९ भाद्र २०८३, मंगलवार
Follow Us

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०८३, मंगलवार ११:१३

रौतहट। रौतहट बारासँग सिमाना जोडिएको भारतको बिहारस्थित पूर्वी चम्पारणको मोतिहारीमा नवजात शिशुको खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चार महिला र एक पुरुष छन्। जिल्ला प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातको निर्देशनमा नगर थाना क्षेत्रबाट प्राप्त गोप्य सूचनाका आधारमा अनुमण्डल प्रहरी पदाधिकारी सदरको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले तत्काल कारबाही गर्दै मोतिहारी सदर अस्पताल चोकबाट नवजात शिशुको खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट भारतीय रुपैयाँ १ लाख ५० हजार समेत बरामद भएको प्रहरीको भनाइ छ।

पक्राउ पर्नेमा पूर्वी चम्पारणको हरसिद्धि थाना क्षेत्रका प्रमोद सहनी र उनकी श्रीमती इन्दु देवी, नगर थाना क्षेत्र बलुवा गोपालपुरकी तान्या खातुन उर्फ कुरैशा खातुन, घोडासहन थाना क्षेत्र बगहाकी शोभा सिंह र लैन बसवरियाकी चिन्ता देवी रहेका छन्।

प्रहरीका अनुसार घटनामा नवजात शिशुको खरिद–बिक्रीसम्बन्धी गतिविधि भएको आशंका गरिएको छ। पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

नवजात शिशुको खरिद–बिक्रीमा अन्य व्यक्ति वा समूहको समेत संलग्नता रहेरनरहेको विषयमा अनुसन्धान अघि बढाएको मोतीहारी प्रहरीले जनाएको छ।

धेरै पढिएको