२४ असार २०८१, आईतवार
Follow Us

बीएण्डसी सम्बन्धी सर्वोच्चको फैसलाले अराजकतालाई बल पुग्न सक्छ: गोविन्द केसी

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०८०, मंगलवार १०:००

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजबारे सर्वोच्च अदालतको सोमबारको फैसलाप्रति आशंका व्यक्त गरेका छन ।

उक्त फैसलाको हालसम्म संक्षिप्त रुप पनि नआएकाले यसबारे अनेक आशंका देखिएको भन्दै केसीले अराजकतालाई बल पुर्‍याउन सक्ने बताएका छन ।

आज मंगलबार एक विज्ञप्ति जारी केसीले यस्तो बताएका हुन । केसीद्धारा जारी विज्ञप्ति भनिएको छ, ‘सो फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गर्‍यो र (चिकित्सा शिक्षा) आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्नेछ र आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुनेछ, ‘यही संदिग्ध अर्थ लाग्ने फैसालामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन ।’

हिजो सोमबार सर्वोच्चका न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईंले आफ्नो बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश माग गर्दै दिएको रिट निवेदनमा रिट जारी हुने आदेश दिएको छ । यद्यपि फैसलाको संक्षिप्त लिखित रुप सार्वजनिक नभएकाले आदेशमा के लेखिएको छ भन्ने प्रष्ट छैन ।