२४ असार २०८१, आईतवार
Follow Us

सरकारी खर्चमा कडाइ गर्दा अर्थतन्त्र शिथिल भएको अर्थमन्त्रीको दाबी

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०८०, मंगलवार १३:४९

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहे पनि शिथिल अवस्थामा रहेको बताएका छन् ।

मन्त्रालयको चालु आर्थिक वर्ष (आव) को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा मंगलबार उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैँ र अन्तर मन्त्रालय समन्वयमा हुने काम अघि बढिसकेको बताएका हुन् ।

अर्थ मन्त्रालयले अन्य मन्त्रालय र निकायसँग जति बढी समन्वयमा काम गर्न सक्यो, उति नै छिटो नतिजा आउने पुनले बताए ।उनले विगतमा खर्च गर्न कडाइ गरिएका कारण बजार चलायमान हुन नसकेको भन्दै सरकारले सकेसम्म खर्च बढाउनुपर्नेमा जोड दिए ।

‘खर्चमा कडाइ गरिएका कारण राजस्व संकलन पनि खुम्चियो,’ मन्त्री पुनले भने, ‘अर्थले खर्चका लागि प्रेरित गर्ने बित्तिकै अरूले पनि खर्च बढाउँछन् ।’

पुनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको बताए । राजस्व छली गर्नेलाई नछाड्न भन्दै उनले असल नियतले सुशासन कायम गर्न उठाइएका कदममा निजी क्षेत्रले पनि सघाउने बताए ।

‘असल नियतले सुशासन कायम गर्न काम गरेपछि राम्रा व्यवसायीलाई फाइदा पुग्छ,’ मन्त्री पुनले भने, ‘राज्यले पक्रिएर थुनेर मात्र हुँदैन । प्रेरित गराएर कानुन कार्यान्वयन गराऔँ ।’