लण्डन । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत अभियान आज तेस्रो दिन पनि निरन्तर जारी रह्यो। प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउनुका साथै मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै संघका पदाधिकारी तथा स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा खटिएको थियो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनको सहयोगमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका, उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकामा अस्थायी आश्रय लिएर बसेका करिब ४०० जना बालबालिकाका लागि ३ हजार थान कपडा तथा ५० थान सोलार लाइट आज (२०८३ भदौ १३ गते) वितरण गरिएको छ।
एनआरएनए चीनका उपाध्यक्ष प्रदीप नेपालको नेतृत्वमा रसुवा पुगेको टोलीले प्रभावित बालबालिकालाई उक्त राहत सामग्री वितरण गरेको हो। बाढीबाट प्रभावित बालबालिकाको तत्काल आवश्यकता पूरा गर्ने उद्देश्यले कपडा तथा सोलार लाइट वितरण गरिएको जनाइएको छ। यसअघि नुवाकोटमा एनआरएनएले हिजो र अस्ति गरी रु. ५० लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो।
आजै रसुवाको थुमन, उत्तरगया गाउँपालिका तथा गोसाइँकुण्ड गाउँपालिका र नुवाकोटको आँखुटार, त्रिशूली बजार, शोलेलगायत बाढी प्रभावित क्षेत्रका स्थानीयवासी तथा सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गरी त्यहाँको वर्तमान अवस्था, प्रभावित नागरिकले भोगिरहेका समस्या तथा तत्काल आवश्यकताबारे जानकारी लिइएको छ। प्राप्त जानकारीका आधारमा प्रभावित नागरिकका तत्काल तथा दीर्घकालीन आवश्यकता सम्बोधन गर्न आगामी राहत, पुनःस्थापना तथा सहयोगको रणनीति तयार गरिएको छ।
यस्तै, बाढीका कारण विस्थापित भई काठमाडौं आएका व्यक्तिहरूसँग भेटघाट गरी उनीहरूको वर्तमान अवस्था, समस्या तथा आवश्यकताबारे समेत जानकारी लिइएको छ।
एनआरएनएको राहत अभियानअन्तर्गत हालसम्म रु. ४ करोड ८२ लाख ७४ हजार ७५ रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ। संकलित रकम राहत तथा मानवीय सहायता कार्यमा प्रयोग गरिसकेपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। संघले विभिन्न एनसीसीमार्फत संकलित सहयोग रकमको पारदर्शी विवरण तयार गरी सार्वजनिक गर्ने जनाएको छ।
राहतसँगै प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एनआरएनएले स्वास्थ्य सेवा तथा चिकित्सकीय सहयोगलाई समेत निरन्तरता दिएको छ। डा. सञ्जीव सापकोटाको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोली भोलि (२०८३ भदौ १४ गते) नुवाकोट जानेछ। टोलीले प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय सेवा प्रदान गर्नेछ। थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत मिलाइएको छ।