२४ असार २०८१, आईतवार
Follow Us

महराले पीएसओ र गाडी छाडेर हिँडेपछि समातेका हौँ: आईजीपी कुँवर

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०८०, बुधबार १५:५५

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सुन तस्करी प्रकरणमा मुछिएका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पिएसओ र गाडी छोडेर हिँडेपछि समातेर काठमाण्डु ल्याएको बताएका छन् ।

आज (बुधबार) बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै आइजीपी कुँवरले यस्तो जानकारी दिएका छन ।

उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि छलफल गरेर नै उहाँ (महरा) लाई पक्राउ गरेका हौँ’, उनले भने, ‘अदालतले स्वास्थ्य अवस्था हेरेर अस्पतालमै राखेर अनुसन्धान गर्न आदेश दिएकाले सोही अनुसार अनुसन्धान भइरहेको छ ।’ त्यस्तै उनले स्वास्थ्य अवस्थाले हिरासतमा अप्रिय घटना नहोस् भनेर हिरासत बाहिर राखेर अनुसन्धान गर्नुपरेको पनि बताएका छन ।

आइजीपी कुँवरले सहकारी मुद्दाको मुख्य जड जीवी राई भएको पनि बताएका छन । उनले भने, ‘उनी मलेसियामा रहेको कुरा आएको छ । हामीले डिफ्युजन नोटिस जारी गरेका छौ तर मलेसियन सरकारले सहयोग गरेको छैन’, कुँवरले भने, ‘मलेसिया सरकारसँग सुपुर्दगी सन्धि नभएका कारण पनि मलेसिया राईलाई बुझाउन बाध्य नभएको हो कि भन्ने बुझिरहेका छौँ ।

उनलाई पक्राउ गर्नका लागि गृहमन्त्री लागिरहनुभएको छ, हामी लागिरहेका छौँ ।’ जीवन चलाउनेको बारेमा मिडियामा तथ्यहिन कुराहरू आइरहेको पनि कुँवरले बताएका छन ।

उनले भने, ‘उसलाई पक्राउ नगरी यथार्थ कुरा आउँदैन । उनीसँग प्रहरीको कुराकानी भएको सीडीआर बाहिर आएको विषयमा कहाँबाट कसले त्यो पठायो छानबिन भइरहेको छ’, कुँवरले समिति सदस्यहरूको प्रश्नको जवाफ दिँदै भने ।