१५ बैशाख २०८१, शनिबार
Follow Us

केही समयपछि काँग्रेस फेरि सरकारमा आउने महामन्त्री गगनको दाबी

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०८०, शुक्रबार १३:३२

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् । संवाद यात्राका क्रममा कपिलवस्तुको लबनीमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टी फेरि सरकारमा पुग्ने बताए । ‘भर्खर त गएको हो । एक डेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त काँग्रेसलाई पछ्याइहाल्छ,’ थापाले भने ।

देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने काँग्रेस मात्रै भएको उनले दाबी गरे । एमाले, माओवादी, नयाँ दलले निराशाबाट देशलाई बाहिर निकाल्न नसक्ने उनले बताए । ‘नेकपा एमालेसँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरूसँग नागरिकलाई उद्वेलित बनाउने क्षमता छ । नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला,’ उनले भने ।

२०८२ मा पार्टीको महाधिवेशन हुने उल्लेख गर्दै महामन्त्री थापाले महाधिवेशनबाट पार्टीको विधानमा केही विषय संशोधन गर्नुपर्ने बताए । ‘पार्टीको सदस्यताका लागि अनुदार नबनौँ । अरू पार्टीले फर्म भर्नासाथ सदस्यता दिन्छ,’ महामन्त्री थापाले भने, ‘क्रियाशील सदस्यता लिन तीन पुस्ते खुलाउनुपर्ने, कुर्नुपर्ने भन्यौँ भने अबको नौजवानले काँग्रेसको सदस्यता लिन कुर्लान् ?’