१४ जेष्ठ २०८१, सोमबार
Follow Us

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०८०, आईतवार १४:२८

काठमाडौँ । तनहुँ ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ सीमा भएर बग्ने सेती नदीको पानी प्रयोग गरी निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रूपमा स्विच दबाएर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।

आयोजनाको प्याकेज-२ अन्तर्गत जलाशय मुहान (इनटेक) बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १ हजार ४ सय ९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।

मुख्य सुरुङको ब्यास ७.४ मिटर रहने छ । अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिने छ । मुख्य सुरुङबाट गएको पानीलाई २ सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिने छ ।

सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा जलस्रोत सचिव सिग्देलले धेरै समय अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरे ।

सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुलन हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानी प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिएको १ सय २६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण छिट्टै अगाडि बढाइने उनले बताए ।

आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्या लगायत विषयमा जानकारी गराए । मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत छ । समग्र निर्माण २०८३ असार (सन् २०२६ मे) भित्र सक्ने लक्ष्य छ ।

प्याकेज-१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माण कार्य धमाधम भइरहेको छ । आगामी असार दोस्रो साताभित्र जग खन्ने काम सम्पन्न गरी त्यसपछि मुख्य बाँधको जग निर्माण सुरु गर्ने लक्ष्यसाथ काम भइरहेको छ । प्याकेज-१ को समग्र भौतिक प्रगति २९ प्रतिशत छ ।

प्याकेज-१ अन्तर्गत १ सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम-कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत प्याकेज-२ निर्माण सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ ।

भूमिगत विद्युत् गृह खन्ने काम सम्पन्न गरी कंक्रिटिङ स्विजयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने उपकरण जडान लगायत काम भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ५५ प्रतिशत छ ।

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवन भरतपुरसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका केईसी इन्टरनेसनल लिमिटेड भारतले गरिरहेको छ । ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७६ टावरको जग हालिएको छ भने ६२ टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७२ प्रतिशत छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँमा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

यसअन्तर्गत स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३-११ केभीका दुइटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । ती सबस्टेसनसम्म विद्युत् पुर्‍याउन ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

सामुदायिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्ध निर्माण लगायत गरी ५६ परियोजना सम्पन्न भएका छन् । सात परियोजना निर्माणाधीन छन् । आयोजना प्रभावितको जीविकोपार्जन तथा आय आर्जन वृद्धिका लागि विभिन्न सिपमूलक तालिम सञ्चालन गरिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एसियाली विकास बैंक (एडीबी) ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन इन्भेस्टमेन्ट बैंकले ८ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।