काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले गत २३ कात्तिकमा जेनजी आन्दोलनका क्रममा युवाहरु मारिएकामा आफू दुःखी र मर्माहत भएको बताएका छन् ।
उनले जेनजी आन्दोलनमा मारिएका र आन्दोलनमा सहभागीहरुले आफूलाई ‘बा’ भन्ने गरेको बताए । ‘जो मारिएका छन् तिनीहरुले पनि मलाइ भन्ने ‘बा’ नै हो । जेनजीहरु पनि भेटरिहेको छु । उनीहरुले पनि मलाई ‘बा’ नै भन्छन्’, कान्तिपुर टेलिजिनको फायर साइडमा रुपेश श्रेष्ठलाई दिएको अन्तर्वार्तामा ओलीले भनेका छन्, ‘मैले फेरि घरघरमा भएका जेनजीहरुको कुरा गरेको छैन । आन्दोलनमा सहभागी जेनजीहरु उनीहरुले पनि ‘बा’ नै भन्ने हुन ।’
आन्दोलनमा भएको क्षति र घटनालाई लिएर आफूले राजीनामा दिएको ओलीले बताए । सिंहदरबारसहित सरकारी कार्यालय र व्यक्तिका घरमा आफूले राजीनामा दिएपछि आगजनी भएको उनले उल्लेख गरे । ओलीले आफूले आन्दोलनकारी मार्न निर्देशन नदिएको भन्दै दुःख व्यक्त गरे पनि गल्ती स्वीकार गर्न र क्षमा माग्न तयार नरहेको स्पष्ट गरे ।
‘एउटा ‘न्यारेटिभ’ के बनाए भने केपी ओली हत्यारा हो । केपी ओलीले मार्यो, मरायो । त्यसरी हत्या भएकामा म धेरै दुःख र पीडित छु । जसका बालबच्चा मरेका छन् उनीहरुका घरमा गएर तपार्ईं हाम्रो सुरक्षा गर्ला भनेर प्रधानमन्त्री बनाएको त तपाईहरुको छोराछोरी मा–यो भनेर भावनामा उचालेर खुकुरीले काट्छु । ढुंगाले हान्छु र केही पाइन भने चिमोटेर मार्छु भन्ने बनाए । उहाँहरुको मनमा घृणा फैलाएको छ, आग्रह जगाएको छ । त्यस कारण सुरक्षा नहुने भएपछि म जान सकिन । न मैले हत्या गरेको हो । न गराएको हो । न म हत्या र हिंसाको पक्षको मान्छे हो । म त दुःखी छु नि । सकेको भए हस्पिटल जान्थें, घाइतेहरु भेट्थें । मृतकका घरमा जान्थें’, ओलीले भनेका छन् ।
श्रेष्ठले आफू सरकारको नेतृत्वमा हुँदा युवाहरु मारिएकामा एकपटक सरी भन्न मन लागो छैन ? भन्ने प्रश्न गरेका छन् । त्यसको जवाफमा ओलीले भावनामा बहकिएर आफूले क्षमा नमाग्ने तर्क गरे । आफूले माफी मागेको अवस्थामा आफूमाथि लागेको हत्याराको आरोप पुष्टि गर्ने प्रयास हुने उनको भनाइ थियो ।
‘त्यसरी भावनामा बग्ने कुरा ठीक हुँदैन । यस्तो परिस्थिति बनाउनु हुने थिएन । म एकदमै दुःखी छु । म उहाँहरुलाई समवेदना भन्छु । मेरो आफ्नै छोराछोरी मारिएको जस्तो पीडा महसुस गरेको छु । म बाट कुनै गल्ती भएको छैन । म बाट गल्ती भएको छ । क्षमायाचना गर्नुपर्छ । माफी माग्नुपर्छ भनेर जुन हल्ला चलेको छ । त्यो हललालाई पुष्टि गर्ने काम गर्नुपर्छ जस्तो लाग्दैन । म युवाहरुलाई अत्यन्तै माया गर्छु । युवाहरुको हत्या हुने जुन स्थिथि बन्यो त्यसबाट म दुःखी भएको छु, मर्माहत भएको छु’, ओली भन्छन् ।
ओलीले तार, फलाम काटेर र पर्खाल भत्काएर आन्दोलनकारी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र प्रवेश गरेपछि गोली चलेको तर्क गरे । ‘तार काटेर, पर्खाल भत्काएर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र मानिसहरु छिरेका होइनन र ?’, उनले प्रश्न गरे ।