२२ बैशाख २०८१, शनिबार
Follow Us

इजरायली हमलामा इरानी रिभोलुसनरी गार्डका उच्च कमाण्डरसहित सात जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०८०, मंगलवार ०५:०७

इजरायलले गरेको हवाइ हमलाबाट इरानी रिभोलुसनरी गार्डका दुई उच्च कमाण्डरसहित ७ जनाको मृत्यु भएको छ । सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको हमलामा परी उनीहरुको मृत्यु भएको सिरियाले जनाएको छ ।

हमलाबाट भवन ध्वस्त भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् । शहरको पश्चिममा रहेको बहु-तल्ले संरचनाबाट धुवाँ र धुलो उडेको देखिएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सले वाणिज्य दूतावासको भवनमा भएको आक्रमणमा आफ्ना सात सदस्यको मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा वरिष्ठ कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी र उनका सहायक रहेको इरानी आईआरजीसीले एक विज्ञप्तिमा जनाएको छ । इजरायली सेनाले विदेशी मिडिया रिपोर्टहरूमा टिप्पणी नगरेको बताएको छ ।

सिरियाली रक्षा मन्त्रालयले इजरायली विमानले स्थानीय समय अनुसार साँझ ५ बजे वाणिज्य दूतावास भवनलाई निशाना बनाएको बताएको छ । इजरायलले विगत केही वर्षहरूमा सिरियामा इरानसम्बन्धित लक्ष्यहरूमा सयौं आक्रमण गरेको छ ।