२१ बैशाख २०८१, शुक्रबार
Follow Us

गैरआवासीय नेपाली संघका प्रतिनिधि र श्रममन्त्री अर्यालबीच भेट

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०८०, बुधबार ११:३८

काठमाडौं । गैरआवासीय नेपाली संघका प्रतिनिधिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग मन्त्रालयमा भेटघाट गरेका छन्।

भेटका क्रममा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र मुलुक भित्रै रोजगारी सृजना गर्नका लागि संघको संयन्त्रलाई सदुपयोग गर्न संघका अध्यक्ष डा. बद्री केसीले आग्रह गरे।

संघका अध्यक्ष डा केसीले हाल कुवेत सरकारले गैरकानुनी रुपमा बस्दै आएका आप्रवासी श्रमिकलाई आममाफी दिएको जानकारी गराए। यही अवसरमा कुवेतमा गैरकानुनी रुपमा बस्दै आएका नेपाली श्रमिकलाई नेपाल फर्कनका लागि सहजीकरण गर्न समेत उनले आग्रह गरे।

त्यस्तै, श्रमिक कल्याणकारी कोषको उचित सदुपयोग गर्न, श्रम मन्त्रालयको नीति निर्माणको क्रममा गैरआवसीय नेपाली संघलाई पनि समावेश गराउन, इराकमा श्रम स्वीकृति खुल्ला गर्न, औचापरिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई इन्सेन्टिभको व्यवस्था गर्नका लागि पहल गरिदिन उनले आग्रह गरे।

साथै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, सात वटै प्रदेशमा भोकेशनल तालिम केन्द्र सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा मन्त्रालयसँग समन्वय गर्न संघ तयार रहेको उनले बताए।

त्यस्तै, संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राईले महिला श्रमिकलाई सुरक्षित रुपमा वैदेशिक रोजगारी जान सक्ने वातावरण बनाउने कार्यमा पहल गर्न समेत आग्रह गरे। भेटमा श्रममन्त्री अर्यालले श्रमिकको हित हुने कार्यमा संघसँग समन्वय गरी अगाडि बढ्न मन्त्रालयल तयार रहेको बताए।