२४ बैशाख २०८१, सोमबार
Follow Us

स्कुल हिँडेकी छात्राको हत्या गर्ने युवक कारागार चलान

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०८०, बिहीबार १३:३०

काठमाडौं । काठमाण्डुका तारेभिरमा स्कुल हिँडेकी छात्रालाई हत्या गरेर खाल्डोमा पुर्ने युवकलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ ।

हत्यामा संलग्न अभियुक्त २१ वर्षीय रुपेन्द्र लामालाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डेले जानकारी दिएका छन ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामा फागुन २५ मा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरमा मृत अवस्थामा फेला परेकी थिइन् । गोकर्णेश्वर नगरपालिका–३ का स्थानीय रुपेन्द्रलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

प्रेम प्रस्ताव अस्वीकार गरेपछि स्कुल हिँडेकी सुस्मालाई उनले क्रूर तवरले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष रहेको छ । प्रहरी वृत्त बौद्धले उनी विरुद्ध जन्मकैदको मागदावी लिनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

हिजो बुधबार काठमाण्डु जिल्ला अदालतले अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको थियो । सुस्मा बुढानीलकण्ठस्थित बुढानिलकण्ठ माविमा पढ्थिन् ।