१८ बैशाख २०८१, मंगलवार
Follow Us

जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र उपाधि नजिक

नेपालब्रिटेन संवाददाता
१ बैशाख २०८१, शनिबार ०६:०७

बारा । मच्छिन्द्र फुटबल क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राती सिमरा रङ्गशालामा भएको पहिलो सेमीफाइनलमा सिराहाको सलहेश युवा क्लबलाई २–० ले पन्छाउँदै मच्छिन्द्र उपाधि भिडन्त पक्का गरेको हो । मच्छिन्द्रले अब उपाधिका लागि शनिबार एपिएफ र पुलिसबिच हुने विभागीय डर्बीको विजेतासंग खेल्नेछ ।

मच्छिन्द्रको जितमा विमल घर्ती मगर र देबेन्द्र तामाङले एक–एक गोल गरे । मच्छिन्द्रले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो । खेलको ३० औं मिनटमा बिमल घर्ती मगरको गोल मार्फत मच्छिन्द्रले अग्रता बनाएको थियो । पेनाल्टी बक्स बाहिरबाट छिरिङ गुरुङले दिएको पासलाई बिमलले सिराहाको बक्सभित्र नियन्त्रणमा लिंदै शानदार गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा देबेन्द्र तामाङले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । अभिषेक गुरुङको कर्नर बलमा देबेन्द्रले हेडिङ मार्फत गोल गरेका थिए ।

राष्ट्रिय टिमका अनुभवी खेलाडी सहित मैदान उत्रिएको मच्छिन्द्र सामु सिराहाका खेलाडी दबाबमा देखिन्थे । पहिलो हाफमा मच्छिन्द्रविरुद्ध आक्रामक खेल खेलेपनि मच्छिन्द्रको अग्रतापछि सिराहाका खेलाडी लयमा देखिएनन् । विमल घर्तीमगर, मनिष डाँगी जस्ता खेलाडी सहित सिमरा रङ्गशालामा उत्रिएको मच्छिन्द्र उच्च मनोबलमा देखिन्थ्यो ।

पहिलो हाफमै फराकिलो अग्रता बनाएको मच्छिन्द्रले दोश्रो हाफ पूर्ण नियन्त्रणमा राखेको थियो । सिराहाले दोश्रो हाफमा आकर्षक अवसर बनाउन सकेन । जीतपुरसिमरा गोल्डकपमा पहिलोपटक सहभागि भएको प्रतियोगिताबाट बाहिरिंदा मच्छिन्द्र पहिलोपटक प्रतियोगिताको फाइनल पुगेको हो ।

खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका विमल घर्तीमगर घोषित भए । शुभारम्भ कलेज म्यान अफ दि म्याचको ट्रफि सहित १० हजार प्राप्त गरे । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी र शुभारम्भ कलेजका निर्देशक डा.राहुल झाले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्तर्गत शनिबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबका विच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।