१९ जेष्ठ २०८१, शनिबार
Follow Us

‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईलाई

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०८१, शुक्रबार ०५:४३

काठमाडौँ । ट्रान्स वुमनहरुको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता स्वरूप आयोजना गरिएको ‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईले पहिरिएकी छन् । १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै राईले मिस पिंकको उपाधि उचालेकी हुन्। राईले १ लाख रुपैयाँ नगद पुरस्कार समेत पाएकी छन् ।

ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि आयोजना गर्दै आएको मिस पिंकको उपाधि विजेता राईले नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड जाने अवसर समेत पाउने भएकी छन् ।

प्रतियोगिताबाट ७५ हजार रुपैयाँ राशिको फस्ट रनर अपको उपाधि सरोजी न्यौपानेले पाएकी छन्। ५० हजार रुपैयाँ राशिको सेकेन्ड रनरअपको उपाधि आरोही बस्नेतले पाएकी छन् ।

लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर ब्यूटी ट्यालेन्ट प्रतियोगिताको फाइनल राउन्ड बिहीबार नाचघरमा सम्पन्न भएको थियो ।

१८ जना प्रतिस्पर्धी मध्ये पहिलो चरणमा टप टेन सार्वजनिक गरिएको थियो। टप टेनमा सामाग्री बोगटी, आरोही बस्नेत, अनमोल राई, पल्लबी मगर, प्रियङ्का न्यौपाने, सायरा गुरुङ, अविना कटवाल, ल्याकमी गिरी, सरोजी न्यौपाने र सुदिप सुब्बा परेका थिए। टप टेनमा परेका मध्ये सुदिपा सुब्बा, अनमोल राई, प्रियङ्का न्यौपाने, सरोजी न्यौपाने र आरोही बस्नेत टप फाइभमा परेका थिए ।

विश्व स्वास्थ्य सङ्गठनले समलिङ्गी हुनु मानसिक रोग नभएको घोषणा गरेको अवसरमा मिस पिंक आयोजना गरिएको आयोजक व्लु डाइमण्ड सोसाइटीले जनाएको छ । सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले समुदायको मुद्दा वकालत गर्न र क्षमता अभिवृद्धि गर्दै समाजमा सकारात्मक प्रभाव बढाएर समुदायमा रहेका व्यक्तिहरूलाई सामाजिक रूपमा स्थापित गरी विभेदरहित कानुन र सकारात्मक समाजको वातावरण निर्माण गर्न दबाब स्वरूप मिस पिंक आयोजना गरिएको बताइन । उनले १८ जनामध्येबाट जोकोही विजयी भएपनि समुदायको विजयी ठान्न आग्रह गरिन ।

राइट हेयर राइट नाउ, एड्स हेल्थकेयर फाउन्डेसन नेपालको सहयोगमा आयोजित कार्यक्रममा सरकारका स्वास्थ्य सचिव डा.रोशन पोखरेलले समुदायका मुद्दा स्थापित गराउन सौन्दर्य प्रतियोगिता उपयोगी भएको बताए । उनले समुदायका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन स्थानीय तह देखिनै सोचमा परिवर्तन ल्याउनुपर्ने बताए ।

युएनकी आवासीय प्रतिनिधि हानाज सिंगरले नेपालमा समुदायले कानुनी रूपमा उपलब्धी हासिल गरेपनि त्यो पर्याप्त नभएकाले कानुन कार्यान्वयनका लागि अभियन्ताहरू एकजुट भएर अघि बढ्न आह्वान गरिन । कार्यक्रममा राइट हेयर राइट नाउकी अध्यक्ष आस्था पोखरेल, एड्स हेल्थकेयर फाउन्डेसन नेपालका कन्ट्री पोग्राम म्यानेजर दिब्यराज जोशीलगायतले विजेतालाई बधाई दिए ।