१९ जेष्ठ २०८१, शनिबार
Follow Us

‘एमडीएच’ र ‘एभरेष्ट’को मसलामा ‘क्यान्सर गराउने पदार्थ’ भेटिएसँगै नेपालले लगायो रोक

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०८१, शुक्रबार ०५:४६

काठमाडौँ । नेपालले भारतीय मसला निर्माता कम्पनीहरू ‘एमडीएच’ र ‘एभरेष्ट’ ब्रान्डका मसलाहरूमाथि रोक लगाएको छ । ‘एथलीन अक्साईर्ड’ नामक क्यान्सर गराउन सक्ने रसायन अधिक मात्रामा पाइएको भन्दै सिंगापुर र हंगकंगले ‘एमडीएर्च’ र ‘एभरेष्ट’ले उत्पादन गर्दै आएका मसलाहरूको बिक्रीमा रोक लगाएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपाली बजारमा बिक्री भइरहेका उक्त ब्रान्डका मसलाहरूमाथि रोक लगाएको हो ।

यससँगै बिहीवार विभागका महानिर्देशक मतिना जोशी वैद्यको अध्यक्षतामा बसेको बैठकले ‘एमडीएच’ र ‘एभरेष्ट’ ब्रान्डका चार वटा मसलाहरूको आयात अनुमति तत्काल स्थगित गर्ने र बजारमा रहेका सो ब्रान्डका उत्पादनहरू ‘रिकल’का लागि निर्देशन दिने निर्णय गरेको छ ।

विभागले एमडीएच ब्रान्डको मद्रास करी पाउडर(स्पाइस ब्लेण्ड फर मद्रास करी), साम्भर मसला मिक्स्ड मसला पाउडर र करी पाउडर मिक्स्ड मसला पाउडर तथा एभरेष्ट ब्रान्डको फिस करी मसलामाथि रोक लगाएको हो ।

यी दुई ब्रान्डका मसलामा क्यान्सर गराउने रसायन रहेको समाचार सार्वजनिक भएसँगै नेपाली उपभोक्तामा पनि यसबारे गम्भीर चासो र चिन्ता व्यक्त भएको थियो । जससँगै विभागलाई थप दबाब सिर्जना भएको थियो ।

आम नागरिकको स्वास्थ्यप्रतिको चाँसो र चिन्तालाई मध्यनजर गर्दै विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई ‘एथलीन अक्साइड’को परीक्षणलाई उच्च प्राथमिकतामा राखी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।