१९ जेष्ठ २०८१, शनिबार
Follow Us

रिडी-तम्घास सडक खण्डको स्तरोन्नतीको काम तीव्र गतिमा हुँदै

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८१, शनिबार ०८:०९

गुल्मी- गुल्मीको रिडी-तम्घास सडक स्तरोन्नती हुन लागेको छ । सडक ट्याक खुलेको ४३ सालपछि स्तरोन्नती हुन लागेको हो । मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडी–तम्घास देखि राजासम्म सडकको २५ किलोमिटर क्षेत्रमा अहिले स्तरोन्नतीको काम भइरहेको छ ।

सडक निर्माणको काम तिब्र रुपमा अगाडी बढेको छ । सडकमा कटिङ्ग र स्तरोन्नतीको काम गर्न करिब २२ वटा जेसिबी डोजर प्रयोग गरेर काम भइरहेको छ । राजमार्गको ७० प्रतिशत सडकको कटिङ्गको काम सकिएको समानन्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले बताउनुभयो ।

सडकमा सवारी साधनले काम गर्न अवरोध गर्ने भएपछि समय तोकेर बन्द गरेरै काम हुँदै आएको छ । सडक दिउँसोको समय १० बजेदेखि ४ बजेसम्म बन्द गरेर काम हुन्छ । सडकलाई तोकिएकै मितिमा सम्पन्न गर्न निर्माण व्यवसायीले जनशक्ति बढाउने काम गरेको छ ।

अहिले भएको सडक निकै सानो र कालोपत्रे पनि भत्किंदै गएको थियो । गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सडक भएकाले यो सडकमा सवारी साधनको चाप पनि उत्तिकै हुने गर्दछ ।

अहिले भएको सडक सानो हुँदा दुर्घटनाको जोखिम पनि बढी नै रहेको थियो । गुल्मी जिल्ला सदरमुकाम तम्घाससम्म २०३८ सालमा जिल्लाका विभिन्न ठाउँका स्थानीय मिलेर सडक खनेर पहिलोपटक ट्याक्टर आएको थियो ।

२०२५ सालमा तत्कालिन जिल्ला विकास समिति सभापति स्वर्गीय बैकुण्ठबहादुर चन्दले सडक ल्याउने कार्यमा अगुवाइ गर्नु भएको थियो । गुल्मी सदरमुकाम तम्घाससम्म बाटो ल्याउन चन्दले जिल्ला वासीलाई बाटो खन्ने कार्यमा ठाउँ अनुसार छुट्टा–छुट्टै भाग लगाएर खन्ने काम भएको थियो । अहिले पनि उक्त बाटो तम्घास ल्याउने कार्य गरेको प्रति स्वर्गीय बैकुण्ठबहादुर चन्दलाई सम्झिन्छन् ।

गुल्मेलीहरु बाटो खन्नका लागि पाल्पासम्म पुगेको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–४ का ७५ वर्षिय कृष्णप्रसाद ज्ञवालीले बताउनुभयो । बाटो खन्नकै लागि पाल्पामा कैयौं पटक पुगेको ज्ञवालीले बताउनुभयो । बाटो खन्ने क्रममा विभिन्न ठाउँबाट बाजा गाजा सहित काम गर्ने गरेको उहाँले सुनाउनुभयो । पाल्पा हुँदै रिडीबाट तम्घाससम्म मानिसले नै खनेर बाटो ल्याइएको थियो ।

त्यतिबेला ट्याक्टर हिड्ने मात्रै बाटो खनिएको थियो । पछि २०६० सालमा केहि समान्य बिस्तार गरेर तत्कालीन जिल्ला विकास समिति सभापति भरत चन्दको अगुवाइमा सडक कालेपत्रे गरिएको थियो । साँघुरो सडकका करिब ३१ वर्षसम्म सवारी साधनहरु जाज–जाउ गरेका थिए । जनसंख्या बृद्धिसँगै अहिले सवारी चाप पनि बढ्दै गएको छ ।

सवारी साधनको बृद्धिसँगै पुरानो बाटो साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक बिस्तार हुँदैछ । पहिलो चरण २५ किलोमिटर सडक स्तरोन्नतीसँगै कालोपत्रे हुन लागेको हो ।

मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । २०७९ साल फागुन २८ गते सम्झौता भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।

१ अर्ब ५० करोड ४८ लाख ३३ हजार रुपैयाँको लागतमा सडक स्तरोन्नती र कालोपत्रे गर्ने गरि ठेक्का सम्झौता भएको छ । सडक वैशाखको अन्तिमसम्म ३५ प्रतिशत भौतिक प्रगती र ३० प्रतिशत वित्तिय प्रगति भएको मदन भण्डारी सडक आयोजनाले जनाएको छ ।

सडक बिस्तारले बलेटक्सार, श्रृङ्गा, लुम्छा, विरवास लगायतका ठाउँमा केहि बस्ती समेत हटाइने भएको छ । सडक बिस्तार गर्न लागेकोमा स्थानीयले हर्षित छन् ।