५ असार २०८१, मंगलवार
Follow Us

२२ औं गोर्खा कपको तयारी अन्तिम चरणमा, ५० टिमबीच प्रतिस्पर्धा हुने

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८१, शनिबार १४:१४

लन्डन । तमुधिं यूकेले वर्षेनी गर्दै आएको ‘गोर्खा कप’ को तयारी अन्तिम चरणमा पुगेको छ । तमुधिं यूकेले शनिवार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘गोर्खा कप’ आउँदो मे २६ तारिख क्विन्स एभ्न्यू, अल्डरसट ग्यारिजन स्पोर्टस सेन्टरमा हुने जानकारी गराएको हो ।

बेलायतकै सबैभन्दा ठूलो नेपाली इभेन्ट मानिने गोर्खा कप यो २२ औं संस्करण हो । पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष हरि गुरुङले विगत वर्षहरुमा भन्दा यस पटकको खेलमा नयाँपन दिन खोजिएको बताए । उनले खेलको आवश्यक तयारी पूरा भएको जानकारी दिदैं खेलमा सहभागिताको लागि आब्हान गरे ।

पत्रकार सम्मेलनमा गोर्खा कप संयोजक क्याप्टेन दिपक घलेले यसपटक ५० वटा टीमबीच प्रतिस्पर्धा हुने जानकारी दिए । सो खेलको लागि मुख्य ३२, १६ भेट्रान र महिला २ वटा टीम  दर्ता भएका छन् । ८ हजारले अवलोकन गर्ने अनुमान गरिएकाे छ । यूकेको सबैभन्दा ठूलो याे प्रतियोगिता हेर्न बेलायतका विभिन्न शहरबाट नेपालीहरुको उपस्थिति हुने गर्दछन् ।

बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कपले नेपाली युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नौमतिबाजा, प्यारासुट प्रदर्शन, नेपाली कला, संस्कृति, खाना,भेषभूषाको समेत प्रवर्धन गर्ने परम्परा रहेको छ । हाल सम्म १५० वटा स्टलहरु बुकिङ भएका छन् । गोर्खा कपमा खाना तथा हस्तकलाका स्टल, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण हुने गरेका थिए ।

संस्थाका महासचिव विशाल गुरुङले संचालन गरेको पत्रकार सम्मेलनमा तमुधिं यूकेका पूर्वअध्यक्षहरु मीन गुरुङ, सूर्जे रामचन्द गुरुङ, ज्ञाम गुरुङ, नन्दजङ गुरुङ, हितकाजी गुरुङलगायतको उपस्थिति थियो। पत्रकार सम्मेलनमा स्वागत मन्तव्य जुमकाजी गुरुङले गरेका थिए ।