५ असार २०८१, मंगलवार
Follow Us

यो कार्यकालमा ६ पटकसम्म विश्वासको मत लिनुपर्ने देख्छुः प्रचण्ड

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८१, शनिबार १४:१६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा चौथोपटक पनि विश्वासको मत पाउनेमा ढुक्क रहेको बताए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले ७ जेठमा विश्वासको मत लिन लागेका हुन् ।

आफ्नो कार्यकालमा ४ पटक मात्र नभई ५ वा ६ पटकसम्म पनि विश्वासको मत लिनुपर्ने परिस्थिति आउन सक्ने उल्लेख गरे ।

एक काँग्रेस नेताले १३ पटकसम्म विश्वासको मत लिनुपर्ने बताएको स्मरण गर्दै उनले भने–‘यसपालि ५÷६ पटक लिनुपर्ने देख्छु । तर जतिपटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन । कहिले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ । तर विश्वासको मत प्राप्त हुन्छ ।’ उनले पार्टी नेताहरुलाई विश्वासको मत प्राप्त हुँदैन कि भन्ने द्विविधामा नपर्न भने ।